कालीकोट : कालीकोट जिल्ला सदरमुकाम मान्म बजार क्षेत्रको सडक वर्सौंदेखि जीर्ण छ । मान्म बजार आसपास र मुख्य बजार प्रवेश गर्ने जिरो प्वाइन्टको सडक जीर्ण हुँदा आउजाउ गर्नसमेत कठिन भएको छ । जिरो प्वाइन्ट बजारको ओरालो सडक खाल्टाखुल्टी भएकाले दुर्घटनाको जोखिम बढेको छ । ओरालो सडकमा खाल्टाखुल्टी हुँदा सडक छेउबाट मोटरसाइकल पार गर्दा धेरै दुर्घटना हुने गरेका छन् ।
औषधी व्यवसायी लक्ष्मणबहादुर खत्रीले सडक जीर्ण हुँदा दैनिक मोटरसाइकल दुर्घटना हुने गरेको बताए । प्रायः जिरो प्वाइन्ट चोकमा ड्युटीमा रहेका प्रहरी सहायक हवलदार विमला बस्नेतले सडक राम्रो नभएकाले दुर्घटना भइरहने गरेको बताए । मोटरसाइकल चालकले सडकमा ठुला खाल्डो भएकाले डिलबाटै डो¥याउन खोज्दा मोटरसाइकल दुर्घटना हुने गरेको उनले जनाए ।
खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जसीप्रसाद चौलागाईंले जोखिम सडक राष्ट्रिय राजमार्गभित्रको सडकखण्ड भएकाले नगरपालिकाले बनाउन नमिल्ने हुँदा जस्ताको तस्तै रहेको बताए । उनका अनुसार सडकको क्षेत्राधिकार सडक डिभिजन कार्यालयको हो । उनले उक्त सडक मर्मतका लागि भनेर बजेट खर्च गर्दा महालेखा परीक्षकको कार्यालयले बेरुजु राख्ने हुँदा केही गर्न नसकिएको स्वीकार गरे ।
तीन वर्षअघि नगरपालिकाले जिरो प्वाइन्टदेखि जिल्ला अस्पतालसम्मको चार किलोमिटर सडक मर्मत गरेको थियो । मर्मत भएको केही समयमै सडक चौडा गर्ने ठेक्का सडक डिभिजन कार्यालय जुम्लाले लगाएपछि झन् जीर्ण भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार