काठमाण्डौ : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गोर्खाजलाई ७३ रनले हरायो ।
जितका लागि एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५.५ ओभरमा सबै विकेटको क्षतिमा ९४ रनमा समेटियो ।
काठमाण्डौका लागि स्टेफल स्किनाजीले सर्वाधिक ३७ रन बनाए । यस्तै सुमित महर्जनले १४, भीम सार्की र जेरार्ड इरासमसले १०–१० रन बनाए ।
काठमाण्डौलाई सस्तैमा समेट्न बलिङमा सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए । उनले ३.५ ओभर बलिङ गर्दै १९ रन खर्खिएर पाँच विकेट लिएका हुन् । अविनाश बोहराले दुई तथा ब्रान्डन म्याकमुलन र सईफ जैफले एक एक विकेट झारे ।
यसअघि टस हारेर पहिल ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले ५३ रनको अर्धशतकीय पारी खेले । उनले ३६ बलमा तीन चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४३, ओपनर विनोद भण्डारीले ३५ र सईफ जैफले ११ रन बनाए ।
बलिङमा काठमाण्डौका रसिद खानले दुई विकेट लिए । साहब आलम, जेरार्ड इरसमस र करण केसीले एक एक विकेट लिए । दोस्रो खेल खेलेको सुदूरपश्चिम लगातार दोस्रो जित हो ।
सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले हराएको थियो । यता तेस्रो खेल खेलेको काठमाण्डौको यो दोस्रो हार हो । यसअघि बिहान भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार