बर्दिया : बर्दियामा चैते धान रोपाइँ सुरु भएको छ । चैते धानको पकेट क्षेत्र राजापुर र गेरुवा गाउँपालिकामा धान रोपाइँको चटारो छ ।
बर्दियामा राजापुर, ठाकुरबाबा, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा चैते धान खेती हुने गरेको छ । विशेष गरी राजापुर र गेरुवा गाउँपालिकामा बर्खे धानभन्दा चैते धानको उत्पादन राम्रो हुने गरेको छ ।
बर्दियामा एक दशकअघिदेखि चैते धान खेती हुने गरेको छ । पर्याप्त सिँचाइ सुविधा, मल र गुणस्तरीय बिउ भएमा चैते धान खेती राम्रो हुने गेरुवा गाउँपालिका–४, गिदरपुरका किसान सीताराम चौधरीले बताए ।
यस वर्ष करिब ७५० हेक्टरमा चैते धान खेती हुने अनुमान गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले जनाएको छ । गत आर्थिक वर्ष २०८१–८२ मा सात सय हेक्टरमा चैते धान रोपिएको थियो भने अघिल्लो आव २०८०–८१ मा ६५० हेक्टरमा धान खेती भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख वीरेन्द्र पराजुलीले बताए ।
केही वर्षपहिले बर्दियामा धान सुपर जोन कार्यक्रम लागु भएपछि करिब एक हजार दुई सय हेक्टरसम्म चैते धान खेती हुन्थ्यो तर पछिल्लो समयमा चैते धान खेती घटेको छ । चैते धान खेती हुने स्थान राजापुर र गेरुवालाई लक्षित गरेर चिनी मिल स्थापना भएपछि धान खेती घट्दै गएको छ । चिनी मिलले उखु खेतीका लागि किसानलाई प्रोत्साहन गर्दै गएपछि धान खेती घटेको एकाइ प्रमुख पराजुलीले बताए ।
नियमित सिँचाइ र मलको अभावका कारण पनि चैते धान खेतीमा कमी आएको राजापुरका व्यावसायिक किसान पहारी थारूले बताए । उनले भने, æसरकारले बर्खे धानको समर्थन मूल्य तोकेर सहकारीलाई व्यवस्थापन खर्च दिई खरिद गराए जस्तै चैते धानलाई पनि गर्नु पर्छ ।Æ
सरकारले धान उत्पादनमा आत्मनिर्भर गराउन र चैते धान प्रवर्धन गर्नका लागि आव २०७३–७४ मा धान जोन कार्यक्रम लागु गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम लागु गरेको थियो । आव २०७५–७६ मा धान सुपर जोन कार्यक्रम लागु गरिएको थियो ।
हाल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले चैते धानका लागि धानको बिउ खरिद, विषादी खरिदमा ५० प्रतिशत अनुदान दिँदै आएको छ । त्यसै गरी वैकल्पिक सिँचाइका लागि मोटर पम्प, बोरिङ र विभिन्न मेसिनरी सहयोग गर्दै आएको छ ।
धान खेतीका लागि आवश्यक आधुनिक मेसिन, कस्टम हायरिङ सेन्टर स्थापना गरिएको कार्यालय प्रमुख पराजुलीले बताए । चैते धानको बिउ उत्पादनका लागि समेत सहयोग गर्दै आएको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार