Listen LIVE

‘सेनेटरी प्याड बनाउने तालिम आत्मनिर्भर बन्न उपयोगी हुने’

नेपालगञ्ज : सेनेटरी प्याड बनाउने तालिमले आत्मनिर्भर बन्न उपयोगी हुने बताइएको छ । लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगञ्जमा गरीएको तीन दिने तालिमको आज समापन कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले नेपालगञ्जका विभिन्न स्थानमा बसोबास गर्ने ३१ जना महिलाहरुलाई छनोट गरी सेनेटरी प्याड बनाउने तालिमका बारेमा सिप प्रदान गरी आत्मनिर्भर बनाउन तालिम दिइएको बताइन् । उनले यस तालिमपछि महिलाहरुले प्याड बनाउन सिकेकाले यो घरायासी प्रयोजन मात्र नभई ब्यापारिक प्रयोजनका लागि पनि उपयोगी हुने धारणा राखिन् ।

कार्यक्रमममा तालिममा सहभागी साजिया इद्रिशीले तालिम लिएपछि अब घरमै बसेर सेनेटरी प्याड बनाउन सकिने सीपको बिकास भएको बताइन् । यस्तै अर्का सहभागी रुबी बानोले सेनेटरी प्याडको प्रयोग गर्दा बातावरण पनि स्वच्छ हुनुका साथै प्रजनन् स्वास्थ्यमा पनि सहयोग पुग्ने धारणा राखिन् । 

तालिमका सहभागीहरुले आगामी दिनमा पनि यस्ता उपयोगी सीपमूलक तालिमको आवश्यकता महशुस गरेका छन् ।  कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमपुख नरेशबाबु श्रेष्ठले यो तालिम मुस्लिम समुदायका महिलाहरुका लागि मात्र नभई सबै महिलाहरुका लागि उपयोगी हुने बताए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, प्रशिक्षक पुष्पा चन्द, अधिकारकर्मी रचना श्रेष्ठ, स्वास्थ्य कार्यालय बाँकेका देवनारायण उपाध्याय, स्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स बिष्णु श्रेष्ठ र नेपालगञ्ज उपमहानगरपालिकाका सीनियर अनमी निर्मला खनाल लगायतको सहभागिता रहेको थियो । 

तालिमको सहजीकरण गरेकी पुष्पा शर्माले १७ बर्षदेखि ३६ बर्ष उमेर समुहका महिलाहरुले सेनेटरी प्याड बनाउन सिकेको बताइन् । उनले १ मिटर कपडाबाट ४ वटासम्म प्याड बनाउन सकिने बताइन् ।

प्रतिक्रिया