Listen LIVE

भ्रष्टाचारविरुद्ध नेपालगञ्जमा वाकाथन आयोजना गरिने

नेपालगञ्ज : भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा भ्रष्टाचारविरुद्ध नेपालगञ्ज वाकाथन हुने भएको छ । मङ्सिर २४ गते नेपालगञ्ज वाकाथन हुने भएको हो ।

विगत चार वर्षदेखि भइरहेको वाकाथन भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था वास नेपालको आयोजना र अन्तरालको व्यवस्थापनमा हुनेछ । भ्रष्टाचारविरुद्धका लागि सँगै हिँडौं भन्ने नारासाथ आयोजना हुने नेपालगञ्ज वाकाथन सफल पार्न बास नेपालले सबैलाई आग्रह गरेको छ ।

वाकाथन मङ्सिर २४ गते बिहान ७.०० बजे नेपालगञ्जको गणेशमान चौकबाट सुरु भई चारबाहिनी, सदरलाइन हुँदै बिपीचोकमा गएर समापन हुने बास नेपालका निर्देशक हेमराज भट्टले बताउनुभयो । उहाँका अनुसार सो वाकाथनमा सांस्कृतिक प्रस्तुति, झाँकी प्रहसन, पर्चा, पम्पलेट वितरण, भ्रष्टाचारविरुद्ध हस्ताक्षर सङ्कलनलगायतका गतिविधि हुनेछन् ।

कार्यक्रमका लागि विभिन्न समिति गठन गरिएको छ । समितिहरुले तयारीका सबै काम गरिरहेको आयोजक संस्था वास नेपालले जनाएको छ । चौथो पटक आयोजना गर्न लागिएको वाकाथनले विगतका वर्षभन्दा बढी आम नागरिकहरुको सहभागिता रहँदै नेपालगन्जको पहिचानलाई थप व्यापक बनाउने अपेक्षा गरिएको अन्तरालका प्रमुख जयनारायण शाहले बताए । 

उनका अनुसार पश्चिम नेपालमा हुने एकमात्र वाकाथनको मुख्य उद्देश्य भ्रष्टाचारविरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्देश्य लिएर ठुलो जनसमुदायको सहभागितामा निश्चित दूरी पार गर्नुलाई वाकाथन भनिन्छ ।

पहिलो वर्ष २०२१ मा नेपालगञ्जको बिपीचोकबाट वाकाथन सुरु भई बजार परिक्रमा गरी स्थानीय सेतु बिकचोक हुँदै बौद्धगुम्बा अगाडि गएर समापन भएको थियो । उक्त कार्यक्रममा चर्चित गायक प्रकाश सपुतलगायतले सहभागिता जनाएका थिए ।

दोस्रो वर्ष २०२२ मा नेपालगञ्जको गणेशमान चोकबाट सुरु भई सदरलाइन हुँदै बिपीचोकमा गएर समापन भएको थियो । तेस्रो वर्ष २०२३ मा नेपालगञ्जको गणेशमान चोकबाट सुरु भई बिपीचोक हुँदै धम्बोझीमा गएर समापन भएको थियो ।

प्रतिक्रिया