नेपालगञ्ज : नेपालगञ्जमा एकैदिन भेटिएको दुई शवको अझैं पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर – १८ को दुई फरक स्थानमा हिजो आईतबार दुई वटा पुरुषको शव फेला परेको थियो ।
उक्त शव नेपालगञ्जस्थित भेरी अस्पतालको शव गृहमा राखिएको छ । नेपालगन्जमा एकैदिन २ फरक स्थानमा २ जनाको बेवारिसे शव फेला परेपछि यतिबेला उक्त शवको पहिचान गर्न गराउन बाँके प्रहरी लागि परेको छ । बाँके प्रहरीका अनुसार शव फेला परेको स्थान र उनीहरुको अवस्थालाई अनुसन्धान गर्दा हालसम्म उनीहरुको स्वभाविक मृत्यु भएको हुनसक्ने आँकलन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ कारकाँदो स्थित ममता कुम्हारको धान खेतमा नामथर, वतन नखुलेको अन्दाजी २५/२६ वर्षको एक पुरुष मृत अवस्थामा फेला परेका थिए । गहुँकालो वर्णको, कालो कपाल भएको, सेतो टिसर्ट, कालो जिन्स पाईन्ट लगाएको उचाई अन्दाजी ५ फिट ५ इन्च रहेको पुरुषको शव आईतबार मध्यान्ह प्रहरीले बरामद गरेको हो ।
त्यसैगरि आईतबार नै नेपालगञ्ज–१८ कै सडक डिभिजन कार्यालयको खुल्ला जग्गामा अन्दाजी ७०/७१ वर्षको पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको पनि नामथर र ठेगाना नखुलेको बाँके प्रहरी प्रवक्ता डीएसपी डाँगीले बताए ।
कपाल फुलेको, आकाशी रङको टिसर्ट, भान्टा रङको जिन्स पाईन्ट, हरियो चप्पल लगाएको पुरुषको शवको फोटो सार्वजनिक गर्दै प्रहरीले पहिचान गरि सनाखत गरिदिन आम नागरिकमा आग्रह गरेको छ । मृत अवस्थामा फेला परेको दुवै मृतक व्यक्तिको हाल सम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार