नेपालगञ्ज : नेपालगञ्जबासीलाई तिर्खा मेटाउने राप्ती खानेपानी आयोजना लामो समयदेखि अधुरै भएको छ । तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको पालामा उक्त आयोजना स्वीकृत भएर काम अगाडी बढेको थियो । हरेक वर्षको गर्मी याममा नेपालगञ्ज उपमहानगर क्षेत्रमा पानीका मुहान सुक्न थालेपछि आर्थिक वर्ष २०७४/७५ बाट आयोजना निर्माणको काम अगाडी बढाइएको थियो । तर, आयोजना विगत ७ वर्षदेखी पुरा हुन नपाएर अलपत्र अवस्थामा परेको हो ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीस्थित राप्ती नदीबाट दैनिक २ करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजना निर्माण कार्य सुरु गरेको थियो । कुल ३३ करोड रुपैयाँको लागतमा सम्पन्न हुने भनिएको आयोजनाका लागि सुरुका वर्षमा नेपालगञ्ज उपमहानगरपालिकाको असहयोग र संस्थानको आन्तरिक ढिला सुस्तीले गर्दा काम अलपत्र परेको छ । आयोजना अन्तर्गत राप्ती नदीदेखि नेपालगञ्जसम्म ‘डिआई’ पाइप बिछ्याइएको छ ।
खानेपानी संस्थान नेपालगञ्जका प्रमुख हरिकुमार श्रेष्ठ डिआई पाइप बिछ्याउनमा सुरुका वर्षमा नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको असहयोगका कारण काम अगाडी बढ्न नसकेको र अहिले राप्ती नदी किनारको जग्गा विवादका कारण काम अगाडी बढ्न नसकेको बताउँछन् । ‘अहिलेसम्म पहिलो फेजको काम सकिएको छ, दोस्रो फेजको काम अगाडी बढाउने क्रममा जग्गाको विवाद उत्पन्न भयो,’ श्रेष्ठले भने ।
पानीको मुहान क्षेत्रमा ब्यक्तिको जग्गा परेपछि जग्गा धनीले अदालतमा मुद्दा हालेको र करिव १५ कठ्ठा जति जमिन किन्नुपर्ने अवस्था देखिएको उनले सुनाए । ‘नदीले काटेको जग्गा हो, हामीले नदीमा परेको जग्गामा आफ्नो हिसाबले संरचना बनाईहाल्यौं, अहिले जग्गा धनीले दाबी गरेर मुआब्जा मागिरहेका छन्,’ प्रमुख श्रेष्ठले भने ।
आयोजनाका लागि पाईप बिछ्याउने काम भने सकिएको उनले सुनाए । कुल १६.८ किलोमिटर बराबरको क्षेत्रमा ‘डिआई’ पाईप बिछ्याउनुपर्ने सुरुको स्टिमेट भएपनि फुलटेक्रादेखि बागेश्वरी पानी ट्यांकीसम्मको २ हजार ९ सय मिटर क्षेत्रमा पाईप बिछ्याउने काम भने स्थगित गरिएको छ ।
‘यो क्षेत्रमा सडकको पिच भत्काएर पाईप बिछ्याउनुपर्ने भएपछि हामीलाई नेपालगन्ज उपमहानगरपालिकाले अनुमति नै दिएन, अहिले आएर हामीले त्यो क्षेत्रमा पाईप नबिछ्याएर विकल्पको रुपमा पुरैना खानेपानी आयोजनासम्म जोड्ने भएका छौं,’ उनले भने । एकातिर उपमहानगरपालिकाले पिच बाटो खनेर पाईप बिछ्याउन अनुमति नदिएको र अर्कोतिर भत्केको पिच पुनः कालोपत्रे गर्नलाई करिव ३ करोड रुपैयाँ लागत लाग्ने देखिएपछि विकल्प खोजिएको श्रेष्ठले प्रष्ट्याए ।
प्रमुख श्रेष्ठका अनुसार राप्ती खानेपानी आयोजनाका डिआई पाईप कारकाँदोस्थित खानेपानी ट्यांकीसम्म भने गतवर्ष नै पुर्याईसकिएको छ । राप्तीबाट ल्याएको पानीलाई बागेश्वरी, कारकाँदो र आलानगरस्थित संस्थानको ओभरहेड ट्यांकबाट वितरण गर्ने यसअघि संस्थानको योजना थियो । तर, अब बागेश्वरीमा नल्याएर कारकाँदो, आलानगर र पुरैनास्थित ओभरहेड ट्यांकबाट उपभोक्तालाई पानी वितरण गर्ने संस्थानको योजना छ ।
खानेपानी आयोजनाको काम अहिलेसम्म करिव ८५ प्रतिशत भन्दा बढी सम्पन्न भईसकेको संस्थानले जनाएको छ । पाइप लाईनका लागि कम्दीस्थित डुडुवा खोलामा ‘ट्रष्ट ब्रीज’ निर्माण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट भने राप्ती खानेपानी आयोजनालाई आफु नेतृत्वमा आएपछि सहजीकरण गरिरहेको बताउँछन् ।
‘हामी नआउँदासम्म उपमहानगरपालिकाको के कस्तो भूमिका रह्यो थाहा भएन, तर हामी उपमहानगरपालिकामा आईसकेपछि खानेपानी पाईप गाड्दा हुने क्षतिलाई कम गरेर भएपनि आवश्यक सहजीकरण गरेका छौ,’ उनले भने । नेपालगञ्जबासीका लागि राप्ती खानेपानी आयोजना धेरै महत्वपूर्ण रहेको मेयर विष्ट बताउँछन् ।
यसरी ल्याइयो नेपालगञ्ज खानेपानी आयोजना
हरेक वर्ष चैत, बैशाख र जेठ महिनामा नेपालगञ्जको अधिकांश ठाउँमा पानीको सतह घट्ने समस्या बल्झिदै आएको छ । पानीको सतह घट्दा खानेपानी संस्थानले नेपालगन्ज क्षेत्रभित्र गाडेका ७ वटा जति डीप ट्युवेल असफल भइसकेका छन् । उपमहानगरका अधिकांस स्थानमा पनि सर्बसाधारणले गाडेका हेण्डपम्प सुक्न थालिसकेका छन् ।
‘नेपालगञ्जमा विकराल बन्दै गएको खानेपानी समस्याको विषय तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालासम्म पुग्योे, उहाँकै अग्रसरतामा राप्ती खानेपानी आयोजना स्वीकृत भएर आयोे, बजेट पनि विनियोजन भयो र निर्माणको काम अगाडी बढाइएको हो,’ संस्थानका सूचना अधिकारी बुद्धिप्रकाश केसीले भने । संस्थानका अनुसार उक्त आयोजना २०७२ सालतिर स्वीकृत भएपनि निर्माण प्रक्रिया आर्थिक वर्ष २०७४÷७५ बाट सुरु भएको थियो ।
आयोजना सम्पन्न भएपछि सयौं वर्षसम्म नेपालगन्जबासी खानेपानी समस्याबाट मुक्त हुने केसी बताउँछन् । आयोजना अन्तर्गत राप्ती नदीमा ‘सम्प वयल’ बनाइएको छ । सम्प वयलमा हाल २ वटा पम्प जडान गरिएको छ । ‘राप्ती नदीबाट ल्याएको पानीलाई नेपालगन्जको ‘ट्रिटमेन्ट’ प्लान्टमा राखिन्छ, त्यहाँबाट ओभरहेड ट्यांकमा तानेर उपभोक्तालाई वितरण गरिन्छ,’ केसीले भने । आयोजनाका लागि बिद्युतीकरणको काम भने सम्पन्न भइसकेको छ ।
आयोजनाका लागि जग्गा प्राप्ती र ट्रिटमेन्ट प्लान्ट पनि बनाउनुपर्नेछ । उक्त आयोजनालाई नजिकबाट हेरेका संविधान सभाका सदस्य मैकुलाल बाल्मिकी तत्कालिन प्रधानमन्त्री स्वर्गिय कोइरालाको अग्रसरताबाट आएको आयोजना समयमा सम्पन्न हुन नसक्नु नेपालगन्जबासीका लागि दुर्भाग्यपूर्ण भएको बताउँछन् ।
‘नेपालगञ्जको खानेपानी समस्या दिर्घकालिन रुपले समाधान गर्ने उद्देश्यले सुशिल दाई प्रधानमन्त्री हुँदा पास भएर आएको आयोजना होे, तर आयोजना सम्पन्न गर्नमा धेरै बाधा अड्चन आएका छन्, सुशिल कोइरालाको ड्रिम प्रोजेक्ट हो भनेर कतिपयले यसलाई असफल बनाउने प्रयास पनि गरे,’ उनले भने । हाल दैनिक ७० लाख लिटर पानी उत्पादन गरिरहेको संस्थानसँग हाल नेपालगञ्ज क्षेत्रमा करिव पाँच हजार उपभोक्ता आवद्ध छन् । राप्ती नदीबाट पानी आएपछि नेपालगञ्ज क्षेत्रमा खानेपानी पर्याप्त हुने कर्मचारी बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार