नेपालगञ्ज : जानकी गाउँपालिकाले गर्भवती महिलाहरुको लागि पोषण तथा आयआर्जनको लागि पोषण विशेष कार्यक्रम अन्तर्गत आज कुखुराको चल्ला वितरण गरेको छ । जानकी गाउँपालिका स्वास्थ्य तथा पशु सेवा शाखाको आयोजनामा गर्भवती महिलाहरुको लागि पोषण तथा आयआर्जनको लागि पोषण विशेष कार्यक्रम अन्तर्गत कुखुराको चल्ला वितरण गरिएको हो ।
वडा नम्वर ३, ४ र ५ का गरी ५१ जना गर्भवती महिलाहरुलाई प्रति ब्यक्ति १० वटाका दरले जम्मा ५१० वटा कुखुराका चल्ला वितरण गरिएको छ । संघीय बजेटबाट प्राप्त अनुदान ’पोषण विशेष कार्यक्रम’ अन्तर्गत १ लाख ५० हजार बराबरको चल्ला गर्भवती महिलाहरुलाई वितरण गर्न सुरु गरिएको पशु सेवा शाखाका प्रमुख दिल वहादुर खड्काले बताए । खड्काले गर्भवती महिलाको लागि पोषणको काम पनि गर्ने, अन्डा उत्पादन हुने र अन्डा उत्पादन भए पश्चात मासु पनि खान सक्नुका साथै बढी भएको अन्डा विक्री गरेर पैसा पनि आर्जन गर्न सक्ने माध्यम भएको बताए । ती चल्लाले ६ महिना पुगेपछि अन्डा दिन शुरु गर्छन् । आफ्नो अवधिमा प्रति चल्लाले १२० वटा अन्डा उत्पादन गर्ने खड्काले बताए ।
जानकी गाउँपालिकाले गर्भवती महिलाहरुको स्वास्थ्य राम्रो होस् भन्ने उद्देश्यका साथ चल्ला दिएकोमा आफूहरु खुशी भएको वडा नम्वर ४ की स्थानीय भुमा रोका र सुनिता रैदासले बताए । पालिकाले गर्भवती महिलाहरुको स्वास्थ्यको लागि अरु पनि यस्ता पोषण विशेष कार्यक्रम ल्याइदिएमा झनै राम्रो हुने उनीहरु बताउँछन् । साथै अन्डाहरु धेरै उत्पादन भएमा अन्डा विक्री गरी घरायसी समस्या समाधान हुनेमा आफूहरु विश्वस्त रहेको समेत उनीहरु बताउँछन् ।
गर्भवती महिलाहरुको लागि पोषण तथा आयआर्जनको लागि पोषण विशेष कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रामआचल धोवी, स्वास्थ्य शाखा प्रमुख दल वहादुर राना लगायत स्वास्थ्य शाखा तथा पशु सेवा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार