Listen LIVE

नक्कली डिएसपी बनेर ठगी गर्ने दैलेखका विक पक्राउ

नेपालगञ्ज : नक्कली डीएसपी बनेर ठगी गर्दै हिँड्ने एक युवक सक्कली डीएसपीको फन्दामा परेका छन् ।

नेपाल प्रहरीको डीएसपी भएको भन्दै ठगी गर्दै हिँडेका दैलेखका एक युवकलाई इलाका प्रहरी कोहलपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेको टोलीले दैलेख नारायण नगरपालिका–५ घर भएर बाँके बस्दै आएका ३० वर्षीय नैनसिंह बिकले विगत ३ महिनादेखि आफूलाई कहिले सीआइबी र राष्ट्रिय अनुसन्धानको डीएसपी भन्दै विभिन्न सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले  जनाएको छ । 

नैनसिंहले बाँकेका विभिन्न सरकारी कार्यालयमा गएर आफू डीएसपी नवीन शाही रहेको बताउँदै अनुगमनको शिलसिलामा काठमाडौंबाट आएको भन्दै सरकारी कार्यालय प्रमुख र अन्य कर्मचारीलाई भेट्ने र सर्वसाधारण जनतालाई ठग्दै हिँडेको जानकारी पाए लगत्तै गएको इलाका प्रहरी कोहलपुरका डीएसपी धर्मराज भण्डारीको टोलीले कथित डीएसपीलाई मंगलबार पक्राउ गरेको हो ।

कोहलपुर–११ एनटिभी रोडबाट पक्राउ परेका नक्कली डीएसपी नैनसिंहले अन्य स्थानहरुमा पनि आफू डीएसपी भएको भन्दै ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कोहलपुरले जानकारी दिएको छ ।

पक्राउ परेका उनीसँँग थप अनुसन्धान गरिरहेको जनाउँदै कोहलपुर प्रहरीले उनीबाट ठगी भएकाले निवेदन दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया