नेपालगञ्ज : नेपालगञ्जमा आजदेखि सातौं विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालगञ्ज नगर समितिको व्यवस्थापनमा आजदेखि नेपालगञ्ज रंगशालामा सुरु भएको तीन दिने प्रतियोगिताको प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले उदघाटन गरे ।
नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको उदघाटन समारोहमा नगरका ४४ वटा माध्यमिक र केही आधारभूत तहका विद्यालयले मार्च पास गर्दै सभाध्यक्ष र प्रमुख अतिथिलाई सलामी अर्पण गरेका थिए । उदघाटन समारोहमा बोल्दै मन्त्री अग्रवालले खेलकुदले विद्यार्थीको सर्वाङ्गिण विकासमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा यस्ता प्रतियोगिता बेला बेलामा सञ्चालन हुन जरुरी रहेको बताए । खेलाडी उत्पादन र प्रोत्साहनका लागि विद्यालयहरुले खेलिरहेको भूमिकाको सराहना गर्दै उनले नेपालगञ्ज उपमहानगरपलिकाले भब्य कार्यक्रम आयोजना गरेको बताए ।
नगर प्रमुख प्रशान्त विष्टले खेलकुदले अनुशासित, मेहनती र कर्तब्यनिष्ठ बनाउन प्रेरित गर्ने भएकाले विद्यालयस्तरदेखि नै खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन भइरहनुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । उदघान कार्यक्रमको सञ्चालन मंगल प्रसाद माविकी प्रधानाध्यापक सन्ध्या गुप्ता र फुल्टेक्रा माविकी प्रधानाध्यापक शान्ति कँडेलले गरेका थिए । २१ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न इभेन्टहरु समावेश गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार