Listen LIVE

बेमौसमी वर्षाले बाँकेका किसान चिन्तित्

नेपालगञ्ज : धान काट्ने र घरमा भित्र्याउने संवेदनशील समयमा परेको मध्यम वर्षाले बाँकेका किसानहरू चिन्तित बनेका छन् । भदौदेखि असोजसम्म घाम र सुक्खाको भरमा मेहनत गरेर उब्जाएको बाली अहिले झरीका कारण खेतमै भिज्न थालेपछि किसानको अनुहारमा पानीसँगै निराशाको रेखा देखिन थालेको छ ।

डुडुवा गाउँपालिका–४ का किसान अब्दुल कलाम शेख भन्छन्, “धान काटेर बन्ध्याकै बेला पानीले खेत पुरै भिजायो । अब सुखाउने ठाउँ छैन, भिजेपछि दाना कुहिने डर छ । वर्षभरको मिहिनेत पानीमै बग्ने हो कि भन्ने त्रास लागेको छ ।”

त्यस्तै, राप्ती सोनारी गाउँपालिका–७ का किसान भागीराम थारु पनि उत्तिकै चिन्तित छन् । उनका अनुसार,“हामीले पसीना बगाएर खेती गरेका हौँ, तर अहिलेको पानीले सबै मेहेनत बर्बाद बनाउने अवस्था छ । धान सुखाउन नपाउने, भिजेपछि दाना टुट्ने र भाख्रा खुवाउने हालत आउने डर छ ।”

बाँकेका ४० प्रतिशत किसान अहिले खेतमै भिजेका धान जोगाउन हतार–हतार पाल र प्लास्टिक टाँग्दै छन् । तर निरन्तर वर्षा भइरहेकाले उनीहरूको प्रयासले कति काम गर्छ भन्ने यकिन छैन ।

बैजनाथ गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोद विश्वकर्माका अनुसार, हालसम्म करिब ६० प्रतिशत किसानले धान घर भित्र्याइसकेका छन्, तर ४० प्रतिशत किसान अझै काट्ने र दाना भित्र्याउने क्रममा रहेका छन् । उनले भने,“यो पानीले खेतमा रहेका धानलाई ठुलो क्षति पुर्याउने देखिन्छ ।,”

प्रतिक्रिया