Listen LIVE

किन चलेनन् ‘मेगास्टार’ अनमोल केसी ?

काठमाण्डौ : ‘फर्की फर्की’ चलेन । ‘छड्के–२’ चलेन । ‘क्याप्टेन’ चलेन । ‘ए मेरो हजुर–४’ चलेन । ‘कृ’ चलेन । आखिर किन चलेनन् ‘मेगास्टार’ अनमोल केसी ?

नितान्त व्यक्तिगत जस्तो लाग्ने यो प्रश्नले कसरी ‘स्टारडम’को विनिर्माण हुन्छ र कहाँ पुगेर त्यो प्रत्युत्पादक हुन्छ भनी खोतल्छ । त्यसैले यो प्रश्न अनमोल केसीभन्दा बढी ती फिल्ममेकरसँग सम्बन्धित छ, जो ‘स्टारडम’को आडमा सिनेमा बनाउन तम्सिन्छन् ।

किनभने यो प्रश्नसँग नेपाली सिनेमाको भरोसा र भविष्य जोडिएको छ । एउटा सिनेमा बनिरहँदा त्यसमा ५०–६० जनाको जम्बो समूह समर्पित र आश्रित हुन्छन् । पटकथाको अवधारणा सुन्न–बुझ्नदेखि प्रचार–प्रसारको तामझाममा लाग्दासम्म तिनीहरूले दुई–चार जोर जुत्ता भ्वाङ पारिसकेका हुन्छन् । त्यो श्रम, समय र सपनाको भर्पाई कसरी हुनसक्छ ?

यो प्रश्नसँग नेपाली सिनेमाको अर्थचक्र जोडिएको छ । देशभर १६० सिनेमाघर सञ्चालनमा छन् । त्यसका सीमित पर्दामा नेपाली सिनेमाले सीमित शो पाउँछन् । डिजिटल र ओभरसिज बजार आफैंमा भरपर्दो छैनन् । यति नाजुक बजारबाट लाभांश उठाउनु एउटा जोखिम छँदैछ । अर्को जोखिम, भएका आंशिक दर्शक पनि तितरवितर हुनेछन् । सिनेमाघरको सिट रित्तिंदै जानेछन् । यो रिक्त विश्वासको पदस्थापन कहाँबाट हुनसक्छ ?

अनमोल केसीको पछाडि जुन निराशाजनक शृंखला छ, त्यो उनको सफलता र असफलताको जोडघटाउ मात्र होइन; बरु नेपाली सिनेमाका लागि ‘चेतावनीको घण्टी’ हो ।

प्रतिक्रिया