दाङ : दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हापुर रतनपुरमा व्यावसायिकरूपमा केराखेती गर्दै आएका हुमबहादुर केसीले लगाएको चार बिघामध्ये दुई बिघा क्षेत्रफलमा रहेका केराका बोट ढलेर नष्ट भएका हुन् ।
फल लागेर बिक्रीका लागि तयार हुँदै गरेका तथा भर्खरै पसाउन थालेका ४१३ वटा केराका बोट हावाहुरीले ढालेपछि क्षति पुगेको किसान केसीले बताए । उनका अनुसार करिब दुई लाख ८५ हजार पाँच सय रुपैयाँ बराबरको क्षति भएको छ ।
'एनिमल सनसाइन बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म' दर्ता गरी हापुर रतनपुरस्थित माध्यमिक विद्यालय हापुरको १० बिघा जग्गा भाडामा लिएर विगत पाँच वर्षदेखि केराखेती गर्दै आएका केसीले साना बोटमा कम असर परेपनि ठूला तथा पसाउने तयारीमा रहेका धेरै बोट ढलेको बताए ।
उनका अनुसार साना बिरुवा रहेको क्षेत्रमा आंशिक क्षति भए पनि ठुला बिरुवा भएको क्षेत्रमा पूर्ण क्षति पुगेको छ ।
प्यूठानको ऐरावती गाउँपालिका–२ निवासी केसीले विद्यालयलाई वार्षिक ७० हजार रुपैयाँ भाडा तिर्दै आएका छन् । भाडामा लिएको १० बिघा जग्गामध्ये हाल चार बिघामा केराखेती गरिएको र बाँकी जग्गामा मौसमअनुसार मकै, तोरी, मसुरोलगायतका बाली लगाइने गरेको उनले बताए ।
फर्ममा उत्पादन भएका केरा गाउँघरका साथै घोराही बजारमा बिक्री गर्दै आएको र मासिक ४० देखि ५० हजार रुपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ । व्यावसायिक केराखेतीसँगै कुखुरापालनसमेत गर्दै आएका केसीले स्थानीय चार जनालाई रोजगारी पनि दिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार