बर्दिया : देशभरी नै रासायनिक मलको अभावमा भइरहेको समयमा बर्दियाको बाँसगढी नगरपालिकाले प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ ।
आगामी वैशाखदेखि प्राङ्गारिक मल उत्पादनको सुरुवात गर्ने गरी नगरपालिकाले मल कारखाना निर्माण गरिरहेको हो । बाँसगढी नगरपालिका–४, मदाहानजिक रहेको गौशालाको छेउमा प्राङ्गारिक मल कारखाना निर्माणाधीन रहेको छ ।
नगरपालिकाको तीन करोड र प्रदेश सरकारको एक करोड गरी जम्मा चार करोड रुपैयाँको लगानीमा प्राङ्गारिक मल कारखाना निर्माण थालिएको छ । २०८१ फागुनदेखि निर्माण शुरु गरिएकोमा आगामी चैत महिनासम्म निर्माण सम्पन्न हुने छ ।
आगामी वैशाखदेखि उत्पादन शुरु गरी धान र मकैको सिजनमा कृषकलाई मल उपलब्ध गराउने योजना रहेको बाँसगढी नगरपालिकाका नगर प्रमुख खडकबहादुर खड्काले बताए । नगरपालिकाभित्र कृषकलाई सहुलियत मूल्यमा मल उपलब्ध गराउने र मल बचेमा अरू छिमेकी नगरपालिकामा पनि बिक्री गर्ने उनले बताए ।
कारखानाका लागि आवश्यक पर्ने गोबर गौशालाबाट उपलब्ध हुने, गौशालाले नपुगेको गोबर विभिन्न फर्मबाट खरिद गरिने योजना रहेको छ । थप कच्चा पदार्थका लागि विभिन्न सामूदायिक वनबाट झारपात ल्याएर मल बनाउने योजना रहेको नगर प्रमुख खड्काले बताए । कारखाना सञ्चालनपछि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा युवाहरूले रोजगारी पाउने छन् ।
घरगाउँमा खेर गइरहेका, सामुदायिक वनमा रहेका घाँस र झारपात सङ्कलन गरेर कारखानामा बिक्री गरेर पनि नगरवासी स्वरोजगार बन्ने छन् । बाँसगढी नगरपालिकामा उत्पादन हुने कुहिने फोहोर पनि सङ्कलन गरेर कारखानामा खपत गरिने उनले बताए ।
कारखाना नगरपालिका, नगरपालिका भित्रका सहकारी र नगरवासीहरू मिलेर सञ्चालन गर्ने योजना बनाइएको छ । “सञ्चालनका लागि कार्यविधि समेत बनाउँदै छौँ ।” नगर प्रमुख खड्काले भने, “कार्यविधि बनाएर व्यवस्थित रूपमा कारखाना चलाउने योजना रहेको छ ।” शुरुमा दैनिक पाँच हजार मेट्रिक टन प्राङ्गारिक मल उत्पादन गर्ने योजना रहेको छ ।
प्राङ्गारिक मल कारखाना सञ्चालन भएपछि नगरपालिकाभरि मलको अभाव नहुने र नगरवासीलाई रोजगारी पनि हुने बाँसगढी नगरपालिका–४, मदाहाकी भगवती थारूले बताइन् । “लामो समयपछि नगरपालिकाले राम्रो काम गरेको छ ।” उनले भनिन, “अब नगरपालिका आग्र्यानिक कृषि खेतीतर्फ अगाडि बढ्छ कि भन्ने आशा जागेको छ ।”
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार