Listen LIVE

विपत् प्रभावित सर्वसाधारणको उद्धार जारी

नेपालगञ्ज : अविरल वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा जनधनको क्षति भएको छ । बाढीपहिरोका कारण पहाडी जिल्ला बढी प्रभावित भएका छन । 

तराईका जिल्लामा डुबानको समस्या देखिएको छ । पहिरोमा परी ज्यान गुमाउनेको खोजतलास र पीडितको उद्धार भइरहेको प्रदेश सरकारले जनाएको छ । राहत तथा पुनस्र्थापना कार्यमा जोड दिइएको छ । 

नदी तथा खोला तटीय क्षेत्रमा रहेका जोखिम बस्तीबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ । बाढीपहिरोले विभिन्न सडक अवरुद्ध छन् ।

राप्ती नदीमा आएको बाढीमा फसेका चार जना डुङ्गाचालकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । राप्तीसोनारी गाउँपालिका–६, पिप्रहवाघाटस्थित राप्ती नदीपारिको किनारमा डुङ्गासहित फसेकालाई उद्धार गरिएको सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो, “डुङ्गासहित राप्ती नदीको बाढीका कारण वारि आउन नसकी पारि किनारमा रातभर फसेका रहेछन् । सबैको बिहान उद्धार गरिएको छ ।” राप्तीसोनारी–६ का दिनेश मल्लाह, राजु मल्लाह, ओमप्रकाश गोडिया र रामसिंह मल्लाहको उद्धार भएको हो ।  

नदीमा फसेकाको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेड क्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेड क्वाटरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवबहादुर बोहोराको टोली परिचालन गरिएको थियो । 

शनिबार साँझ ढुङ्गामा मानिस छोड्न नदीपारि जाँदै गर्दा नदीमा भीषण बाढी आएपछि वारि आउन नसकी रातभरि नदी किनारमा डुङ्गामै बसेर रात बिताएको दिनेश मल्लाहले बताए ।

एक सय घरपरिवार सारियो 

त्यस्तै बाढी तथा डुबानबाट जोगाउन बाँके डुुडुवा–१ का एक सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । राप्ती नदीमा आएको बाढी बाँकेका गाउँबस्तीमा पस्न थालेपछि जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको हो । 

राप्ती नदीको पानीले खतराको विन्दु पार गरेपछि डुबानमा पर्ने निश्चित भएका स्थानीयलाई सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

डुडुवा–१, कृषि चौफेरी, बार्डर चौफेरी र पाँझा गाउँ डुबानको जोखिममा रहेको कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले बताए । उहाँले तीन गाउँका स्थानीयलाई अग्लो स्थानमा निर्माण गरिएका आश्रयस्थलमा सारिएको बताए । 

बाढी प्रभावित कृषि चौफेरीका स्थानीय राम यादवले राप्तीको बाढी गाउँमा आउन थालेपछि सर्वसाधारण सुरक्षित स्थानतर्फ लागेको बताए । गाउँका सबै स्थानीयलाई नजिकैको आश्रयस्थलमा पु¥याउने काम भइरहेको छ ।

बाढीले कुसुम क्षेत्रमा रहेका गाउँहरू डुबानमा परेका छन् । कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेपछि घर डुबानमा परेको स्थानीयले जनाएका छन् । बाढी गाउँमा पस्दा स्थानीय खुमलाल रावत, शालिकराम भण्डारी, राजकुमार रावत, गर्भे विक, रमेश भण्डारी, धर्मबहादुर ओली, चोपा ओली, रोवर ओलीका घर डुबानमा परेको स्थानीयले बताएका हुन् ।  

प्रतिक्रिया