Listen LIVE

बीस वर्षमा सिक्टा सिँचाइ आयोजनाको आधा काम मात्र

नेपालगञ्ज : बाँकेमा निर्माणाधीन बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले २० वर्षको अवधिमा आधा मात्रै काम गरेको छ । आयोजनाका निर्देशक राजु आचार्यले आयोजनाको कार्यक्षेत्र र लागत दुवै बढ्दै गएकाले निर्माण अवधि पनि लम्बिँदै गएको जनाउँदै हालसम्म ५० प्रतिशत काम पूरा भइसकेको र थप काम तीव्र गतिमा भइरहेको बताए । 

उनका अनुसार हालसम्म पश्चिमी मूल नहरको ४५ किलोमिटर निर्माण पूरा भइसकेको र पूर्वी मूल नहरको ५३ मध्ये ३७ किलोमिटर नहर तयार भइसकेको अवस्थामा आयोजनाको ५० प्रतिशत काम पूरा भएको छ । उनले बाँकी नहर र शाखा प्रशाखा निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको पनि बताए । निर्देशक आचार्यले उक्त आयोजना अन्तर्गत अहिले पश्चिमी मूल नहर र पूर्वी मूल नहरका ठुला संरचना निर्माण गरी शाखा तथा प्रशाखा नहर विस्तारका क्रममा रहेको बताए । उनले लामो कानुनी विवादपछि पश्चिमतर्फको डुडुवा सिँचाइ प्रणालीको निर्माण पनि पुनः सुरु गरिएको जनाउँदै यो प्रणाली सञ्चालनमा आएपछि नेपालगञ्ज, डुडुवा र जानकी गाउँपालिकाको करिब १६ हजार हेक्टरमा थप सिँचाइ सुविधा पुग्ने बताए । 

डुडुवा सिँचाइ प्रणालीका लागि २०७३ सालमा ठेक्का सम्झौता भएपनि काम नगरेका ठेकेदारको ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गरिएको आयोजनाले जनाएको छ ।  निर्देशक आचार्यले आयोजनाले पूर्वी नहरको बाँकी काम, शाखा प्रशाखा विस्तार र मर्मतसम्भारका काम तीव्र रूपमा अघि बढाउने तयारी गरेको बताए । उनले अर्थ मन्त्रालयबाट स्रोत सहमति पाएपछि करिब पाँच अर्ब रुपैयाँ बराबरको थप निर्माण योजना अघि बढाइने जनाउँदै नयाँ योजनामा पाँचौँ, छैटौँ र सातौँ नम्बरका शाखा नहर विस्तारसँगै पुराना संरचनाको पुनर्निर्माण पनि समावेश रहेको बताए । 

उता पश्चिमी र पूर्वी मूल नहरसँगै केही शाखा प्रशाखा नहरमा समेत पानी छाडिएकाले आकाशे पानीको भरमा खेती गर्ने बाँकेका धेरै किसान अहिले सिक्टाको नहरबाट खेती गरेर वर्षमा तीन बाली लगाउन सक्षम भएका छन् । 

राप्तीसोनारी–४ का किसान रामशरण थारूले पहिले आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकोमा अहिले नहरकै पानीले खेती गर्न सजिलो भएको बताए । राप्तीसोनारी–७, निबुवाटारका किसान अमर घर्तीमगरले पूर्वी मूल नहर पूर्ण रूपमा नबने पनि किसानको जीवनशैली परिवर्तन हुन थालेको बताए । उनले भने, “पहिला खान नपुग्ने जमिनबाट अहिले बेच्ने अन्न उत्पादन हुन थालेको छ ।”

यस्तै राप्तीसोनारी–५ की रिमा थारूले अब आकासे पानीको भर पर्नु नपर्ने र समयमै नहरको पानी तानेर खेती गर्न सकिने भएकाले सहज हुँदै गएको बताए । 

बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी पश्चिमतर्फको ३३ हजार सात सय हेक्टर र पूर्वीतर्फको नौ हजार हेक्टर खोतीयोग्य जमिनलाई सुक्खा लाग्नबाट बचाउने उद्देश्यले आर्थिक वर्ष २०६१–६२ देखि सिक्टा सिँचाइ आयोजनाको निर्माण सुरु गरिएको थियो ।

प्रतिक्रिया