Listen LIVE

ठगी गरेको आरोपमा नमस्ते सहकारीमाथि मुद्दा दर्ताको तयारी

नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक हिनामिनाको प्रारम्भिक अनुसन्धान पूरा गरी मुद्दा दर्ताको तयारी गरिएको छ ।

लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रारको तर्फबाट नमस्ते सहकारीमा आर्थिक हिनामिना भएको दावीसहित संलग्नलाई कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्राचार भएपछि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

प्रदेश सहकारी रजिष्ट्रारको तर्फबाट जाहेरी परेपछि प्रहरीले एक तहको अनुसन्धान गरी बचतकर्तालाई व्यक्तिगत जाहेरीका लागि सार्वजनिक सूचना जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाङ्गीले जिल्ला प्रहरी कार्यालयको सार्वजनिक सूचनापछि ८३५ जनाले लिखित जाहेरी दर्ता गरेको जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले भने, ‘सहकारी ठगी सम्बन्धमा आवश्यक अनुसन्धान पूरा गरी मागदाबी अभियोग लिएर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ताको अन्तिम तयारी गरिएको छ ।’ 

सहकारीमा १७ हजार ९७० जना निक्षेपकर्ता बचतकर्ता भए पनि जिल्ला प्रहरीमा भने ८३५ जनाको मात्र लिखित जाहेरी परेको हो । जिल्ला प्रहरीले सहकारीका अध्यक्ष विष्णुबहादुर रिमालसहित सञ्चालक समिति र ब्यवस्थापनमा आबद्ध गरी १७ जना विरुद्ध मुद्दा दर्ता गर्ने भएको छ । 

अनुसन्धानको क्रममा उपस्थित नभएपछि उनीहरु विरुद्ध पक्राउपुर्जी जारी गरिएको भए पनि रिमालसहित सबै १७ जना फरार रहेको प्रहरीले जनाएको छ । प्रदेश सहकारी रजिष्ट्रारको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा दिइएको जाहेरीमा ८६ करोड रुपैयाँ ठगी भएको दाबीसहित आवश्यक अनुसन्धान गरी कारवाहीका लागि माग गरिएको छ ।

प्रतिक्रिया