Listen LIVE

कुट्की खोज्न बनमा स्थानीयको घुईंचो

यदुराज मिश्र/नेपालगञ्ज : जङ्गलमा पाइने एक प्रकारको च्याउ प्रजाति कुट्की खोज्ने सिजन सुरु भएको छ । मनसुनको सुरुवाती वर्षात्पछि तराईका जङ्गलमा कुट्की उम्रिने गर्दछ । यो एक प्रकारको च्याउ प्रजाति हो ।

गोलो डल्ला आकारको यो हुने गर्दछ । जमिनमा उम्रिने कुट्की स्वादिलो र प्रशस्त मात्रामा पौष्टिक तत्व पाइने तरकारी मानिन्छ । वर्षमा एक सिजन मात्र हुने कुट्की खोज्नका लागि बाँकेका वनमा अहिले मान्छेको चहलपहल छ । 

एकातिर रोपाइँको चटारो छ । वनमा कुट्की उम्रेपछि किसान आफ्नो रोपाइँको कामसमेत स्थगित गरेर कुट्की खोज्न जाने गरेका छन् । मिठो र पौष्टिक भएका कारण कामधन्दा रोकेर कुट्की खोज्ने गरेको वनमा भेटिएका कैलाश लोनियाले बताए । 

वन आसपासका स्थानीय मात्र नभइ टाढा गाउँका मानिस पनि कुट्की खोज्न वन पुगिरहेका छन् । दिनभरी खोजेर कतिपयले प्रतिकेजी आठसय रुपैयाँमा कुट्की बेचेर आम्दानी पनि गरिरहेको स्थानीयले जनाएका छन् । कुट्की बढीमा एक, डेढ हप्तासम्म मात्र वनमा उम्रिने गर्दछ ।

प्रतिक्रिया