कालीकोट : सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको खाँडाचव्रm नगरपालिका–१०, चौखोलामा खसेको ढुङ्गा फुटाउन नसक्दा आउजाउमा अप्ठ्यारो भइरहेको छ । पहिरोसँगै बगेको ठुला दुई वटा ढुङ्गा फुटाउन नसक्दा उक्त क्षेत्र निकै जोखिममा रहेको छ । ढुङ्गा फुटाउन नसकेका कारणले अहिले आउजाउ गर्न कठिन भएको छ ।
चौखोलामा गत साउन २७ गते आएको पहिरोले ४५ घण्टा सडक अवरुद्ध भएको थियो । ढुङ्गा फुटाउन नसक्दा ४५ घण्टा पछि दुई ढुङ्गाबिचमा सानो ठाउँ बनाएर यातायातका साधन आउजाउ भए पनि जोखिम अझ कायमै छ । माथिल्लोपट्टि रहेको ढुङ्गामा ठुला गाडी ठोक्किने गरेका छन् । चालकले निकै जोखिम मोलेर गाडी क्रस गराउने भए पनि सडकमा रहेका दुई ढुङ्गा फुटाउनेतर्फ कसैले पनि ध्यान दिएको छैन ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन केसीले ढुङ्गा फुटाउने साधन नभएकाले केही गर्न नसकिएको बताए । ड्रिल मेसिनको प्रयोग गरेर वा ब्लास्टिङ गर्नुपर्ने भएकाले त्यो आफ्नो पहुँचभन्दा बाहिरको रहेको उनले जनाए । सडक डिभिजन कार्यालय जुम्लाले अहिले तत्काल सडक सुचारु गराउनेतर्फ मात्र जोड दिएको जनाएको छ । कार्यालयका निमित्त प्रमुख चेतनकुमार मण्डलले बर्सातको समय नसकिएकाले उक्त ढुङ्गा आफैँ लडेर सडक छोड्न सक्ने भएकाले त्यसतर्फ ध्यान नदिएको बताए । तर माथिल्लो ढुङ्गा तल खसेको खण्डमा तल्लो ढुङ्गामा अढेस लाग्ने हुँदा धेरै दिन कर्णाली राजमार्गको कालीकोट–जुम्ला खण्ड अवरुद्ध हुने जोखिम छ ।
१२ चक्के गाडी अहिले पनि ठोक्किएर आउजाउ गर्छन, गाडीको ठक्करले ढुङ्गालाई दबाब परेर गाडी माथि पल्टिएमा मानवीय तथा भौतिक क्षति हुने सर्वसाधारण बताउँछन् । पछिल्लो समय सडक चौडा गर्ने नाममा कर्णाली राजमार्गको विभिन्न खण्डमा एक्साभेटर प्रयोग भएकाले सामान्य पानी पर्दा पनि पहिरो खस्ने गरेको छ । पहिरोका कारणले दैनिक कर्णाली राजमार्ग अवरुद्ध हुने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार