Listen LIVE

एचआईभी संक्रमित बालिका माथि बिभेद

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका बालापुरस्थित एक बिद्यालयमा कक्षा एकमा पढ्ने एचआईभी संक्रमित बालिकाले (विद्यालय र बिद्यार्थीको नाम गोप्य राखिएको) बिभेदको सामना गर्नुपरेको छ ।  विद्यार्थी एचआईभी भएको थाहा पाएर अन्य अभिभावकले  आफ्ना बालबालिकालाई बिद्यालय नै नपढाए पछि हप्तादिन देखि कक्षा सञ्चालनमै कठिनाई उत्पन्न भएको छ ।

उक्त बिद्यालयमा कक्षा १ मा सत्र जना बालबालिका रहेकोमा चौध जना बालबालिकाले एचआईभी संक्रमित बालिकाको बारेमा थाहा पाए पछि आफ्ना बालबालिकालाई बिद्यालय पढाउनै छाडेको पाइएको छ । एक हप्तादेखि सबै बालबालिकाले आफ्ना बालबालिका बिद्यालय पढाइरहेका छैनन् । बिद्यालयका प्रअले उक्त कुरा स्विकार गरेका छन्   ।

‘म बाहिर भएको बेला अभिभावकहरुको तर्फबाट यो बिषयमा संशय व्यक्त गर्नुभएको थाहा पाए । अहिले अभिभावकसंग छलफल गरेर उहाँहरुको सशंय मेटाउने काममा लागेको छु ।’ विद्यालयका प्रअले बिद्यालयको तर्फबाट अभिभावकहरुसंग छलफल गरि समस्या समाधानको पहल भइरहेको बताएका  छन् । उनका अनुसार आइतबारसम्म समस्याको समाधान हुने अपेक्षा गरिएको छ ।

यो बिषयमा एचआईभी संक्रमितहरुको पक्षमा आवाज उठाउँदै आएको संस्थाहरुको ध्यानाकर्षण भएको  छ । जुनकीरी महिला समुहका कार्यक्रम अधिकृत रबिन्द्रसिंह राठोर नेतृत्वको टिमले बिद्यालयमै पुगेर बास्तविकता अध्ययन गरि अभिभावकसंग छलफल गरेको छ । स्वास्थ्यकर्मी समेतको उपस्थितिमा भएको छलफलमा एचआईभी संक्रमित कुन अवस्थामा सर्छ र कुन अवस्थमा सर्दैन भनेर स्पष्ट पारेर उनिहरुमा रहेको संशय मेटाएर समस्या समाधान गर्ने काम भइरहेको राठोरले बताएका छन् । आवश्यक परेको अवस्थामा चिकित्सकको टोलि समेत लगेर समस्या समाधान गरिने उनको भनाइ छ ।

राठोरले आफ्ना बालबालिकाहरुलाई एउटै कक्षा कोठामा राखेर पढाए आफ्ना  बालबालिकालाई एचआईभी संक्रमण हुने अभिभावकको बुझाइ रहेको छ । जुन गलत रहेको र अझै पनि सचेतनाको अभावले भेदभावपूर्ण ब्यबहारको चरम सामाना गरिरहेको यो पछिल्लो  उदाहरण भएको राठोर बताउँछन् ।

प्रतिक्रिया