Listen LIVE

कन्या कलेजमा पढ्दै मधेशी र मुस्लिमका बालबालिका

नेपालगञ्ज : नेपालगञ्ज शहरले फरक पहिचान बनाएको छ । यस शहरलाई सद्भावको शहर भन्ने गरिन्छ । हिन्दु, मुस्लिम, सिख्ख, इसाई धर्म मान्नेहरु रहेका छन । सबै जातजातीका अभिभावकहरुको बालबालिकाहरुले विभिन्न विद्यालयमा अध्ययन गरिरहेका छन । जनचेतनाको अभाव र धार्मिक परम्पराका कारण मधेशी र मुस्लिम समुदायका बालिकाहरुलाई विद्यालय पठाइन्दैन । 

उक्त समस्यालाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले कक्षा एकदेखि उच्च शिक्षासम्म पढ्नका लागि कन्या मावि र महिला कलेज संचालनमा ल्याएको छ । उच्च शिक्षासम्म छुट्टै अध्यायपन हुन थालेपनि यहाँका अभिभावकहरुले आफ्ना बालिकाहरुलाई निधक्र्कका साथ भर्ना गरेका छन । दुबै विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न थालेपछि बालिकाहरुको आकर्षण बढेको छ । 

मधेसी तथा मुस्लिम छात्राका लागि नेपालगञ्जमा स्थापित महिला कजेलको आकर्षण बढेको छ । उच्च शिक्षाको अवसरबाट बन्चित हुन नदिन र आफ्नै मुलुकमा पढ्न पाउने अवसर प्रदान गर्न भन्दै मङ्गलप्रसाद महिला कलेजको स्थापना गरिएको हो ।

करिब रु ५ करोडको लागतमा ४० कोठे भवन निर्माण गरिएको महिला कलेजका प्रमुख रविन्द्रकुमार कर्णले बताए । उनका अनुसार महिला कलेजमा छात्रावासको व्यवस्था समेत गरिएको छ । कलेजले अहिले विविएच, ४ वर्षे विएड र बिएससी कक्षा सञ्चालन गर्दै आएको छ । पूर्वाञ्चल विश्व विद्यालयसँग सम्बन्धन प्राप्त कलेजले न्युनतम शुल्कमा गुणस्तरिय र पुर्ण किशोर मैत्री बाताबरणमा अध्ययपन गराउँदै आएको प्रमुख कर्णले बताए । 

कलेजमा हाल १ सय ३० बालिकाहरु विभिन्न संकायमा पढिरहेका छन । कलेजले लगनशिल, गरिब तथा अति विपन्न बालिकालाई छात्रबृति समेत प्रदान गरेको छ । कलेजमा विशेष गरि मधेशी र मुस्लिम समुदायका बालिकाहरु निर्धक्कका साथ अध्ययन गरिरहेका छन् । 

मंगल प्रसाद माध्यामिक विद्यालयले लिजमा दिएको १४ कठ्ठा जमिनमा निर्माण गरिएको महिला कलेज सञ्चालनका लागि नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थापन गरेको छ । कलेज सञ्चालनमा आएपछि नेपाली छात्राहरुलाई भारतमा गएर अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । 

नेपालगन्ज उपमहानगरपालिका–४ सल्यानीबागस्थित आधारभूत विद्यालयलाई कुनै वेला सय जना विद्यार्थी पाउन मुस्किल थियो । गुणस्तरीय शिक्षा नभएको भन्दै अभिभावकले आफ्ना बालबालिकालाई भर्ना गर्न रुचाउँदैनथे । भर्ना भएका विद्यार्थी पनि नियमित रूपमा विद्यालय आउँदैन्थे ।

घरदैलोमा पुग्दासमेत विद्यार्थी नपाउँदा शिक्षक–शिक्षिका हैरान हुन्थे । शिक्षक बुधेशकुमार जयसवालले विगतको दिन सम्झिदै भन्छन्,–‘विद्यार्थी नपाएर विद्यालय सञ्चालनमा समस्या थियो । कक्षा मर्ज गरेर पठनपाठन गराउनुपर्ने बाध्यता थियो । 

शैक्षिक सत्र २०७४÷०७५ मा बाल विकासदेखि कक्षा ८ सम्म पढाइ हुन्थ्यो । विद्यार्थी थिए जम्मा ९० जना । अहिले उक्त विद्यालयमा ६ सय जना विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेको पुर्व प्रधानाध्यापक भईसकेका शिक्षक जायसवाल बताउँछन् ।

विद्यार्थी नपाउने समस्या भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले उक्त विद्यालयलाई कन्या मावि बनाउने निर्णय ग¥यो । त्यसका लागि पूर्वाधार निर्माण गर्ने र सुधारका लागि विज्ञ नियुक्त गर्ने निर्णय ग¥यो । ‘नेपालगन्जमा कन्या माविको आवश्यकता महसुस गरी उक्त विद्यालयको नाम नेपालगन्ज कन्या माध्यमिक विद्यालय नामकरण गर्यौँ,’ पुर्व उपमेयर उमा थापा मगरले भन्नुभयो,–‘कन्या मावि बनाएपछि विद्यार्थीको संख्या त बढेको छ नै, शैक्षिक सुधारसमेत भएको छ ।’ 

विद्यालयको शैक्षिक सुधारका लागि उपमहानगरले सेवा निर्वित शिक्षिका किरण आचार्यलाई विज्ञको रूपमा नियुक्त गर्यो । आचार्यले विद्यालय सुधारका लागि योजना बनाउनुभयो । सोही योजनाअनुसार उपमहानगरपालिकाले विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई परिचालन गर्यो । त्यसपछि विद्यार्थी नपाएर फुर्सदिला शिक्षक अध्ययन अध्यापनमा व्यस्त भए । विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न थालिएपछि अभिभावकहरुले आफ्ना छोरीहरुको भर्ना धमाधम गरे । विद्यालय अहिले नेपालगञ्जको नमूनाको रुपमा बनेको छ । 

विद्यार्थीलाई आकर्षित गर्न पहिलो चरणमा उपमहानगरले विद्यार्थीलाई हरेक महिना एक लिटर खाने तेल वितरण गरेको थियो । भर्ना भएका विद्यार्थीलाई नियमित रूपमा विद्यालय ल्याउन साइकल वितरण गरियो । ‘साइकल चलाउन सक्ने कन्यालाई साइकल र सानालाई झोला वितरण ग¥यौँ,’ पुर्व मेयर थापाले भन्नुभयो । व्यावहारिक शिक्षाका लागि विद्यालयले छात्रालाई कपडा सिउने सीप पनि दिएको छ । 

२०२२ साल जेठ २९ गते स्थापना भएको विद्यालयलाई शैक्षिक सत्र २०७६ सालदेखि कन्या माविको रुपमा सञ्चालन गरिएको छ । उक्त विद्यालयमा अहिले कक्षा १ देखि १२ कक्षासम्म पढाई विद्यालयमा सबै बालिकाहरु मात्र पढिरहेका छन् । 

उक्त विद्यालय २०२५ साल फागुन ७ गते तत्कालीन राजा महेन्द्रले उदघाटन गरेका थिए । पुरानो विद्यालय भए पनि मधेसी र मुस्लिम समुदायको बाक्लो बस्ती भएकाले बालिका विद्यालय जान सकिरहेका थिएनन । उपमहानगरले कन्या माविको रूपमा सञ्चालन गरी शिक्षामा सुधार ल्याएपछि विद्यार्थीको संख्या ह्वात्तै बढेको विज्ञको रूपमा रहनुभएका आचार्यले बताए । 

नेपालगञ्ज कन्या माविमा अध्ययनरतमध्ये ७० प्रतिशत बालिका मुस्लिम समुदायका छन । सानोदेखि ठूलो कक्षामा अध्ययनरत धेरैजसो मुस्लिम समुदायका बालिका रहेको शिक्षिका गोमा पोखरेलले बताए । फाटफुट रूपमा मधेसी, थारू र अन्य समुदायका भए पनि अधिकांश मुस्लिम समुदायका बालिका अध्ययनरत छन्,’ उनले भने ।  

उनले मुस्लिम समुदायमा आफ्ना छोरीलाई सुरक्षित राख्ने संस्कार भएकाले कन्या मावि भएपछि छोरीलाई विद्यालय पठाउन थालेको बताए । छोरीहरूलाई घरबाहिर निस्किन नदिने र केटाहरूबाट टाढा राख्ने संस्कार अहिले पनि भएको भन्दै उनले कन्या मावि सञ्चालनमा आएपछि आफ्ना छोरीहरू सुरक्षित हुने विश्वास अभिभावकमा जागेको बताए । कन्या मावि स्थापना भएपछि छोरीहरू सुरक्षित हुने भएकाले विद्यालय पठाएको अभिभावकहरु बताउँछन् ।

प्रतिक्रिया