नेपालगञ्ज : प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, नेपालगञ्जबाट आर्थिक वर्ष ०८२/८३ मा २४ हजार ५ सय २६ पिन्ट रगत वितरण गरिएको छ ।
प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीका अनुसार नेपालगञ्ज, कोहलपुर र खजुरा क्षेत्रमा सञ्चालित २२ वटा अस्पतालमार्फत चिकित्सकको सिफारिसका आधारमा बिरामीलाई सुरक्षित रगत उपलब्ध गराइएको हो ।
बाँके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीको उपचारका लागि प्रमुख स्वास्थ्य केन्द्र (हब) का रूपमा स्थापित भएकाले यहाँ दैनिक ठूलो संख्यामा बिरामी उपचारका लागि आउने गरेका छन् । यही कारण जिल्लामा सुरक्षित, गुणस्तरीय र पर्याप्त रक्तसञ्चार सेवाको आवश्यकता वर्षेनी बढ्दै गएको रेग्मीले बताए ।
हाल नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले जिल्लाका तीन स्थानबाट रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको छ । नेपालगञ्जस्थित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालस्थित रक्तसञ्चार सेवा इकाई तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरास्थित रक्तसञ्चार सेवा इकाइमार्फत नियमित रूपमा बिरामीलाई रक्तसञ्चार सेवा प्रदान हुँदै आएको छ ।
स्वास्थ्य सेवा विस्तारसँगै रक्तदानप्रति नागरिकको सहभागिता बढाउन र आवश्यक समयमा पर्याप्त रगतको उपलब्धता सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटी बाँकेले विभिन्न सचेतनामूलक तथा रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार