Listen LIVE

सल्यानका गाउँमा धमाधम शौचालय निर्माण हुँदै

सल्यान : गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले सल्यानको दार्मा गाउँपालिकामा क्षति पुर्याएको शौचालयको पुनर्निर्माण गरिएको छ । भूकम्पले सल्यान दार्मामा व्यक्तिगत र सार्वजनिक संस्थाका एक हजार ३७ शौचालयमा क्षति पुर्याएको थियो । जसले गर्दा स्थानीय बासिन्दा खुला शौच गर्न बाध्य भएका थिए । 

एकातिर घर भत्किएको, अर्कातिर शौचालय नहुँदा भूकम्पपीडितलाई धेरै समस्या भएको थियो । भूकम्प गएको केही समयपछि भूकम्पपीडितलाई अस्थायी शौचालयको व्यवस्था गरिएको थियो । भूकम्पले क्षति पु¥याएका एक हजारभन्दा बढी शौचालयमध्ये अहिलेसम्म ५८६ वटा निर्माण गरिएको हो । दार्मा गाउँपालिका–२, डलसिङका पठे खत्रीले भूकम्पले घरसंगै शौचालयमा क्षति पुगेको र अस्थायी शौचालय प्रयोग गर्दै आएकोमा अहिले पक्की शौचालय निर्माण भएपछि सजिलो भएको बताए । उनका अनुसार गाउँमा खानेपानी र सरसफाइका गतिविधि सञ्चालन भएका छन् ।

भूकम्पले दार्मामा चार हजार घर,  एक हजार ३७ शौचालयमा क्षति पुगेको थियो । क्षति पुगेका १४ वटा संस्थागत शौचालय निर्माण गरिएको छ । आफ्नो विद्यालयको शौचालयमा पनि क्षति पुग्दा अस्थायी शौचालय प्रयोग गर्नु परेकोमा अहिले विद्यालयमा पक्की शौचालय निर्माण भएपछि छात्रछात्रालाई सजिलो भएको दार्मा गाउँपालिका–१ बाल ज्ञानोदय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेतीराम बुढाथोकीले बताए । उनले भने, “प्लास्टिकले बेरेका शौचालय प्रयोग गर्दा सबै किसिमको असुविधा महसुस भइरहेको थियो । अहिले पक्की शौचालय निर्माण भएपछि बालबालिका, वृद्धवृद्धालाई सहज भएको छ ।”

भूकम्पले क्षति पुर्याएका शौचालयमध्ये पहिलो चरणमा व्यक्तिगत ५७२ वटा र १४ वटा संस्थागत शौचालय निर्माण गरिएको हो । शौचालय निर्माण गर्न सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता परियोजनाले र गाउँपालिकाले साझेदारी गरेका छन् भने स्थानीयले पनि श्रमदान गरेका छन् । दार्मा गाउँपालिका प्रकाश थापाले क्षति भएका र बन्न बाँकी शौचालय यसै आर्थिक वर्षमा निर्माण गरिने योजना रहेको बताए । उनले भने, “यो वर्ष क्षति भएका सबै शौचालय निर्माण गरिने छ ।”

दार्मामा भूकम्पले एक हजार ३७ शौचालयमा क्षति पुर्याएकामध्ये पनि ७३८ वटा शौचालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने बाँकी शौचालय आंशिक रूपमा क्षति भएका छन् । शौचालय निर्माण सामग्री र प्राविधिक सहयोग पालिकाले व्यवस्था गरेको छ ।  गाउँपालिकाले शौचालय निर्माणका लागि हालसम्म ७५ लाख रुपियाँ खर्च गरेको छ । 

दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले भूकम्पले क्षति पुर्याएका प्रत्येक घरधुरीमा गएर शौचालयको विवरण सङ्कलन गरी निर्माण कार्य अगाडि बढाइएको बताए । आगामी २०८४ सालमा पूर्ण सरसफाइ पालिका घोषणा गर्ने लक्ष्यसहित खानेपानी र सरसफाइ विभिन्न कार्यक्रम पालिकामा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया