नेपालगञ्ज : बालबालिकाको कुपोषण सुधारको लागि स्वास्थ्य कार्यालय लगायत स्थानीय तहले धेरै कार्यक्रम ल्याएका छन् । बर्षेनी ठूलो धनराशी कुपोषण सुधारको क्षेत्रमा खर्च गरिए पनि बालबालिकाको कुपोषण दर भने घट्न सकेको छैन ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्यांकअनुसार ०७८/०७९ मा १ हजार ५६ जना २ वर्षमुनिका बालबालिका कुपोषित थिए । आव ०७९/०८० मा १ हजार ४ सय १९ बच्चाहरूमा कुपोषण देखिएको थियो । ०८०/०८१ मा १ हजार ३ सय १० बालबालिकामा कुपोषण देखिएको तथ्याङ्क छ ।
संघीय संरचनापछि स्थानीय तहले नै कुपोषण घटाउन कार्यक्रम गरिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्यायले बताए । उनले भने, अझै पनि पाखुराको जाँच लिने क्रममा कुपोषित बालबालिकाहरू भेटिरहेका छन् । स्थानीय तहहरूसँग मिलेर विभिन्न सङ्घसंस्थाले पनि पोषण सुधारको लागि काम गर्दै आएका छन् । पोषण सुधारको उपलब्धी भने शून्यप्रायः छ ।
ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन् । पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन् । समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन् । स्थानीयस्तरमा चेतनाको कमी र गरिबीले जानकी गाउँपालिका,नरैनापुर गाउँपालिका सहित नेपालगञ्ज उपमहानगरपालिका लगायत अधिकांश क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढी छ । गर्भवती हुने बेलादेखि नै स्वास्थ्य संस्थामा पहुँच नपुग्नु पोषिलो खाना नपाउँदा यस्तो समस्या आएको डुडुवामा कार्यरत वरिष्ठ अनमी सीमा घर्तिमगर खानले बताइन् ।
घरमै उपलब्ध हुने पोषिलो खाना नखाएकै कारण शारीरिक वृद्धि विकास हुन नसकेको नरैनापुरका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले बताए । उनले भने, नरैनापुरमा २०७९/८० मा २ सय ६ रहेका थिए भने गत आव मा २ सय ९७ पुगेको बताउँदै उहाँले भन्नुभयो, विकट क्षेत्रका बालबालिकामा कुपोषण हुनु गरिबी सँगै चेतनाको कमी नै मुख्य कारण देखिएको छ ।
संयोजक शाहले भने,‘अभिभावकहरू बिहानदेखि अबेर रातीसम्म खेतबारीमा काम गर्न जाने गर्छन्,’ ‘बालबालिकालाई रोटी र बासी भात राखेर घरमै छोड्नुपर्ने बाध्यताका कारण पोषिलो खाना खान नपाएकोले बच्चाहरू कुपोषित भइरहेका छन् ।
पोषणबारे चेतनाकै कमी कै कारण स्थानीयको बानी व्यवहारमा सुधार आउन सकेको छैन । स्थानीयस्तरमा उपलब्ध गेडागुडी, साग तरकारी मिसाएर खुवाउन सिकाए पनि व्यवहारमा थोरैले मात्र उतार्ने गरेका वरिष्ठ अनमी सीमा घर्तिमगर खानले बताइन् । उनले भनिन,“पोषणको बारेमा जानकारी पाएकाहरूले नै व्यवहार परिवर्तन गर्न सकेका छैनन् ।”
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देव नारायण उपाध्यायका अनुसार राप्ती सोनारीमा १ सय १५, कोहलपुरमा ५१, बैजनाथमा १ सय ४, खजुरामा १ सय २, जानकीमा, ३ सय ९९, नेपालगञ्जमा १ सय ४१, डुडुवामा १ सय १ र नरैनापुरमा २ सय ७९ जना बालबालिकामा कुपोषण पुष्टि भएको जानकारी दिए ।
भौगोलिक रूपमा विकट अधिकांश क्षेत्रमा खान नपुग्ने र खान पुगे पनि खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडेको डुडुवाका स्वास्थ्य संयोजक हेमन्त शर्माले ग्रामीण क्षेत्रमा खाना पोषिलोभन्दा पनि छाक टार्नका लागि खाने गरेको बताए । जस कारण बालबालिकालाई कुपोषण हुने गर्दछन् । उनले डुडुवाले बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउनका लागि विशेष कार्यक्रम लागु गरेकोले आउने दिनहरूमा केही हद सम्म सुधार ल्याउन मदत पुग्ने बताए । गाउँपालिकाकाले पोषणमैत्री अभियान सञ्चालन गरी कुपोषणमा कमी ल्याउने काम सुरु गर्न लागेको संयोजक शर्माको भनाई थियो ।
वरिष्ठ बालरोग विशेषज्ञ डा सकिल अहमदले गरिबी निवारण नगरी कुपोषण निको नहुने बताए । ‘कम उमेरका आमाबाट जन्मेका बच्चा एकदेखि दुई किलो तौलका मात्र हुन्छन् । आमाले बच्चालाई समयमा स्तनपान गर्न नसक्दा पनि कुपोषणले ठूलो रूप लिएको छ,’ उनको भनाई थियो ।
सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती कार्यक्रम प्रभावकारी नहुँदा लक्षित वर्गसम्म कार्यक्रम अझै पुग्न सकेको छैन । विभिन्न गैरसकारकारी संस्थाहरू ग्रामीण क्षेत्रको नाम देखाएर सदरमुकाम केन्द्रित भएर काम गरी रहेकोले पनि सुधारात्मक परिणाम ल्याउन नसकेको स्वास्थ्य कार्यालय बाँकेको निश्कर्ष रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार