नेपालगञ्ज : प्रतिनिधि सभा सदस्य सुष्मा स्वर्णकारले नेपालगञ्ज–६ फुल्टेक्रास्थित निर्माणाधीन नीलसागर सेवा आश्रम भवनको स्थलगत निरीक्षण गरेकी छन् । निरीक्षणका क्रममा उनले आश्रमसँग आफू पहिलेदेखि नै नजिक रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा अपूर्ण भवन सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् ।
सांसद स्वर्णकारले असहाय, बेवारिसे, दीनदुःखी तथा सडकआश्रित नागरिकलाई आश्रय प्रदान गर्दै आएको आश्रमको कार्यलाई अत्यन्तै सराहनीय भएको बताइन् । मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै उनले यस्ता संस्थालाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
सो अवसरमा आश्रमकी संयोजक डा. सरिता खनालले भाडाको संरचनामा आश्रम सञ्चालन गर्नुपर्दा विभिन्न समस्या भोग्नुपरेको गुनासो गरिन् । उनका अनुसार हाल आश्रममा करिब २५० जना आश्रित रहेका छन् भने आवश्यक संरचना अझै निर्माणाधीन छ । बढ्दो महँगीका कारण आश्रम सञ्चालनमा कठिनाइ भइरहेको भन्दै उनले सरकारको तर्फबाट सहयोगका लागि पहल गरिदिन सांसद स्वर्णकारसमक्ष आग्रह गरिन् ।
संयोजक खनालले नीलसागर सेवा आश्रमको १० वर्षे यात्रालाई संघर्ष, पीडा र आशाले भरिएको बताउँदै राज्यसँग पटक–पटक संवाद र पहल गर्दा पनि अपेक्षित सहयोग नपाएको उल्लेख गरिन् । æहामीले धेरै योजना र प्रस्ताव राख्यौं, तर पर्याप्त सुनुवाइ भएन,Æ उनले भनिन, æजनताको साथ नभएको भए आश्रम सञ्चालन सम्भव हुने थिएन ।Æ
सांसद स्वर्णकारसँगको भेटपछि आफूमा नयाँ आशा पलाएको खनालले बताउनुभयो। राज्यले नीलसागरजस्ता संस्थालाई ओझेलमा पार्न नहुने र सबै संस्थालाई समान व्यवहार हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
निरीक्षणका क्रममा सांसद स्वर्णकारले आश्रममा आश्रितहरूलाई दिवा खाजा खुवाउँदै उनीहरूको अवस्थाबारे जानकारी लिएकी थिइन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्वर्णकारको व्यस्त कार्यतालिकाका बीच आश्रममा पुगेर प्रत्यक्ष अवलोकन गर्नु सकारात्मक सन्देश भएको स्थानीयको भनाइ छ । उनीसँगै पार्टीका कार्यकर्ताहरू पनि आश्रम पुगेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार