दैलेख : तत्कालीन रावतकोट, वडालम्जी, भैरीकालिकाथुम, बाँसी र रानीवन गाविसमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले ३७ वर्षअघि सुरु गरिएको गीताचौर–रावतकोट सिँचाइ आयोजना अहिलेसम्म पनि निर्माण हुन सकेको छैन । विसं २०२२ मा ४३५ हेक्टर जमिनमा सिँचाइ पुर्र्याउने उद्देश्यले सुरु गरिएको आयोजना सङ्घीय सरकारले बजेट विनियोजन कम गर्ने, उपभोक्ता समितिले श्रमदान नगर्ने, ठेकेदारले काम नगर्नेलगायतका समस्याका कारण हालसम्म पनि निर्माण हुन नसकेको हो ।
छ करोड ३१ लाख रुपैयाँको लागतमा निर्माण थालिएको सिँचाइ आयोजनामा अहिलेसम्म झन्डै पाँच करोड रुपैयाँ खर्च भइसकेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखले जनाएको छ । उक्त कार्यालयका प्रमुख टोपेन्द्र मल्लले सङ्घीय सरकारले बजेट विनियोेजन गर्दा कम गर्ने र उपभोक्ताले श्रमदान गर्न समस्या मान्ने गरेका कारण आयोजना निर्माण सम्पन्न हुन नसकेको बताए । उनले यो आर्थिक वर्षमा आएको ८० लाख रुपैयाँ बजेटमा चार किलोमिटर सिँचाइ कुलो निर्माण गरिएको बताए । उनले तत्कालीन समयमा गरिएको सर्वेक्षण र त्यसैका आधारमा निर्माण गरिएको प्राविधिक लागत अनुमानले आयोजना निर्माण हुन नसक्ने भन्दै त्यसका लागि पुनः प्राविधिक लागत अनुमान तयार गरी बजेट विनियोजन गर्नुपर्ने बताए ।
उनका अनुसार तत्कालीन समयमा निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले काम नगरेका कारण आयोजनाले गति लिन नसकेको हो । निर्माण कम्पनीले बनाएको सिँचाइ कुलोको संरचना भत्किएर पुरानै अवस्थामा आएको छ । निर्माण सम्बद्ध पक्षले सिँचाइका लागि पर्याप्त पानी नभएको, उपभोक्ताको असहयोगलगायतका कारण आयोजनाको निर्माण रोकेको थियो । सुरुका वर्ष पानीको स्रोत नपुग्ने भन्दै सिँचाइ कार्यालयले सवा दुई करोडको काम बिचैमा रद्द गरेको थियो । फेरि तत्कालीन सिँचाइ कार्यालयले २०४७ सालमा पुनः टेन्डर आह्वान गरी काम सुचारु गर्न निर्माण कम्पनीलाई जिम्मा दिएको थियो ।
यस अवधिमा कार्यालयका प्राविधिक र निर्माणकर्ताबिचको मिलेमतोका कारण आधा काम गरी सो कामको मात्र प्रतिवेदन बुझाउने र रकम भुक्तानी लिनेदिने काम भएकाले पनि आयोजना निर्माण सम्पन्न हुन नसकेको स्थानीयले बताएका छन् । आयोजनाको प्रारम्भिक चरणका काम नगरी २०४९ देखि २०५६ सालसम्म दुई करोड ९७ लाख खर्च भइसकेको दाबी गरिएको छ ।
आयोजनाप्रति समुदायको अपनत्व बढाउने नीति अनुसार स्थानीयले सेयर लगानी गर्नुपर्ने कार्यालयले प्रस्ताव गरेपछि २०५५ सालमा रावतकोटका बासिन्दाले एक लाख धरौटी उठाएर बैङ्कमा राखे पनि अहिले त्यो रकम कहाँ छ भन्ने यकिन हुन नसकेको तत्कालीन आयोजनाका अध्यक्ष तिलकप्रसाद रिजालले जानकारी दिए । उनले गीताचौर–रावतकोट सिँचाइ आयोजना निर्माण सम्पन्न गर्न तीन ठाउँमा तीन वटा ठेकेदारले निर्माणको जिम्मा लिए पनि उनीहरूको लापर्बाहीका कारण आयोजना निर्माण हुन नसकेको बताए ।
तत्कालीन जिल्ला विकास समितिको समन्वयमा दैलेख जिल्लाका ५५ गाउँ विकास समितिका अध्यक्ष र उपाध्यक्षलाई बोलाएर श्रमदान गरिएको अध्यक्ष रिजालले बताए ।
भैरवी गाउँपालिका–१ का आशाराम थापाले आफूहरूको उपभोक्ता समितिले ८० लाख रुपैयाँ बराबरको काम गरेपछि चार किलोमिटरसम्म सिँचाइ कुलोमा पानी ल्याउन सफल भएको बताए । उनले पहिला बनाएको सिँचाइ कुलोले नजिकैको सडक हान्दा भत्किएको र केही भाग पहिरो गएर भत्किएका कारण चार किलोमिटरसम्म मात्र पानी सञ्चालन भइरहेको जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार