नेपालगञ्ज : बाँकेको कोहलपुर–१०, चटारस्थित बागेश्वरी एकेडेमीको आयोजनामा शनिबारदेखि जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप शुरु भएको छ ।
प्रतियोगितामा जिल्लाभरका ५९ वटा डोजाङबाट ४५० भन्दा बढी खेलाडी सहभागी रहेको जनाउँदै विद्यालयका प्रधानाध्यापक श्रीधर गोराथोकीले यो एउटा प्रतियोगिता मात्र नभई खेलकुदको महोत्सव भएको बताए ।
प्रतियोगिताको उदघाटन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले निजी क्षेत्रबाट आयोजित यस्ता खेलकुद प्रतियोगितामा यति धेरै खेलाडी सहभागी हुनु अतिनै उत्साहजनक भएको बताए । उनले यस्ता खेलकुद प्रतियोगिताले बालबालिकाको समग्र विकासका लागि अत्यन्त सकारात्मक कार्य गर्ने जनाए ।
दुई दिनसम्म सञ्चालन हुने सो प्रतियोगिता अन्तर्गत विद्यालय प्राङ्गणका तीन फरक क्षेत्रमा खेल सञ्चालन भइरहेको छ । प्रतियोगिताको सम्पूर्ण खर्च विद्यालयले बेहोरेको जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रमाणपत्र, मेडल तथा शिल्ड प्रदान गरिने छ ।
विद्यालयका सञ्चालक समिति अध्यक्ष किशन गुरुङको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजार, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक चक्रबहादुर डम्मर पाल, तेक्वान्दो सङ्घ लुम्बिनी प्रदेश संयोजक बुद्धिबहादुर थापा, सचिव प्रेमबहादुर आले, नगर खेलकुद संयोजक चक्र चिमाला क्षेत्री, तेक्वान्दो सङ्घ बाँकेका कोषाध्यक्ष प्रेम पुन, कराते महासङ्घ बाँकेका अध्यक्ष सन्तोष शाह लगायतको सहभागिता रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार