Listen LIVE

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

काठमाण्डौ : आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–थ्रीको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ।

थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेपाललाई जितका लागि १५९ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो।

नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन योगदान दिइन्। त्यसैगरी, रजमति ऐरीले अविजित २० रन तथा रुबिना क्षेत्रीले १२ रन बनाएकी थिइन्। अन्य खेलाडीहरू भने दोहोरो अङ्कमा रन जोड्न असफल भए।

थाइल्यान्डका लागि ओन्निचा कामचोम्फुले सर्वाधिक चार विकेट लिइन्। त्यसैगरी, थिपाचा पुथावोङले तीन विकेट र सुलेपोर्न लाओमीले एक विकेट हात पारिन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५८ रन बनाएको थियो।

थाइल्यान्डका लागि नन्नापत कोन्चारोएनकाईले २८ बलमा आठ चौकाको मद्दतले अविजित ५० रन बनाइन्। त्यसैगरी, नटाया बुचथमले ४२ बलमा पाँच चौकासहित ५० रन बनाएकी थिइन्। अपिसरा सुवान्चोराथीले २९ रन तथा नथ्थकन चन्थमले अविजित १५ रनको योगदान गरेकी थिइन्।

नेपालका लागि रजमति ऐरी र मनिषा उपाध्यायले समान रूपमा एक–एक विकेट लिएका थिए।

नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेका थिए। पहिलो खेलमा दुवैले युएईलाई पराजित गर्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेका थिए।

प्रतिक्रिया