Listen LIVE

पाठेघरको क्यान्सरका २८ जना शंकास्पद बिरामी फेला

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका ४ स्थित सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा आयोजना गरिएको निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविरमा २८ जना पाठेघरको क्यान्सरका शंकास्पद बिरामी भेटिएका छन्  ।

नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी यौन तथा प्रजनन स्वास्थ्य शिविरमा आएका १४१ जना महिलाको स्वास्थ्य परीक्षण गर्ने क्रममा ११२ जनाको परीक्षण गर्दा २८ जना पाठेघरको क्यान्सरका शंकास्पद बिरामी भेटिएका हुन् ।

सो शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका १४१ जना महिलामध्ये अधिकांशमा पाठेघरसम्बन्धी विभिन्न प्रकारका सङ्क्रमण देखिनुका साथै २८ जनामा पाठेघरको मुखको क्यान्सरको शङ्कास्पद अवस्था देखिएको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत जागेश्वर बस्नेतले बताए ।

उनले सो शिविरमा ४३ जनाको पाठेघरसम्बन्धी एचपिभि डिएनए परीक्षण गरिएको जनाउँदै रिपोर्ट आउन बाँकी रहेको बताए ।

भेरी वातावरणीय विशिष्टता समूह बीग्रुप, ए.एफ.डी. र एम.डि.एम.फ्रान्सको सहयोगमा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा दुई जना महिलाको पाठेघर खस्ने समस्या देखिएकोले रिङ हालिएको तथा पाठेघरको शङ्कास्पद क्यान्सर देखिएका र अन्य सङ्क्रमण भएकाहरुलाई भेरी अस्पतालमा थप परीक्षण र उपचारका लागि रिफर गरिएको नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

सो शिविरमा स्त्रीरोग विशेषज्ञहरु डा. प्रेरणा मलिक र डा. सजिप्ता पन्तले महिलाहरुको स्वास्थ्य परीक्षण गरेका थिए भने कन्सल्ट्यान्ट फिजिसियन डा. शङ्कर केसीले पनि उनीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा उपचारका लागि पुगेका अधिकांश महिलाले यो शिविरबाट आफूहरुलाई निकै लाभ र उपचारमा सहयोग भएको प्रतिक्रिया दिए ।

स्त्री रोग विशेषज्ञ डा. मलिकले शिविरमा आएका धेरै जना महिलाहरुमा पाठेघरको समस्या देखिएको जनाउँदै शिविरका कारण उनीहरुले समयमै उपचार शुरु गर्न सकेको बताए ।

स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनीता पौडेल, जनस्वास्थ्य नर्स विष्णु श्रेष्ठ, परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्ती मल्ल, नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत गोरखनाथ योगी र वरिष्ठ अनमि प्रेमकुमारी बिसीलगायतले स्वास्थ्य शिविरको अनुगमन गरेका थिए ।

शिविरमा बिग्रुपका उपाध्यक्ष मीरा खनाल, एमडिएम फ्रान्सका कार्यक्रम प्रबन्धक तर्कबहादुर थापा, ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ का संयोजक समद सिद्दिकी, बिग्रुपका स्वास्थ्य अधिकृत रुपक न्यौपानेलगायतको पनि सहभागिता थियो ।

प्रतिक्रिया