Listen LIVE

गत आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट ५२६ जनाको उद्धार

नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्षमा मानव बेचबिखनको जोखिमपूर्ण यात्रामा रहेका ५२६ जना युवती, महिला र बालबालिकाको उद्धार गरिएको छ ।

लामो समयदेखि मानव बेचबिखनको क्षेत्रमा क्रियाशील माइती नेपाल नेपालगञ्जका प्रमुख केशव कोइरालाका अनुसार मानव बेचबिखनका दृष्टिले अत्यन्तै संवेदनशील मानिने नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्ष २०८०–०८१ को असार मसान्तसम्म ५२६ जनाको उद्धार गरेर आवधिक गृहमा प्रवेश गराई पारिवारिक पुनर्मिलन गराइएको हो ।

प्रमुख कोइरालाले मानव बेचबिखनको जोखिमपूर्ण यात्रामा रहेका पश्चिम नेपालका विभिन्न जिल्लाका ५२६ जनालाई सीमा क्षेत्रबाट उद्धार गरी उनीहरूलाई सचेत पारेर घर फिर्ता पठाइएको बताए । सो अवधिमा श्रम तथा यौन शोषणमा परेका ९ जनालाई उद्धार गरी उनीहरूलाई पनि परिवारमा पुनर्मिलन गराइएको माइती नेपाल बाँकेले जनाएको छ । 

यसैगरि गत आर्थिक वर्षमा नाकामा पुगेका ५११ जनालाई वैदेशिक रोजगारको जोखिम तथा त्यहाँ पर्न सक्ने जोखिमबारे परामर्श दिएर फिर्ता गराइएको माइती नेपालले जनाएको छ । हराएको भनी ५८७ जनाको खोजतलासको निवेदन माइती नेपालमा परेकोमा २९५ जना फेला परेका थिए भने १५ जना घरेलु हिंसाको सिकार भएको पाइएको थियो । विभिन्न खालका हिंसामा परेका ५ जनालाई सिपमूलक तालिम दिएको माइती नेपाल बाँकेले जनाएको छ ।

सो अवधिमा २ वटा मानव बेचबिखनविरुद्ध मुद्दा दर्ता भएको र २ जना माथि जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको माइती नेपालको बाँके शाखाले जनाएको छ ।

प्रतिक्रिया