Listen LIVE

बाँके पूर्ण खोप सुनिश्चितता घोषणा

नेपालगञ्ज : बाँके पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा घोषणा भएको छ । आज नेपालगञ्जमा आयोजित एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि ५९ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र चौधारीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनले बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका हुन् । स्वास्थ्यमन्त्री पुनले खोपको सुनिश्चिततासँगै यसको दीगोपनाका लागि सबै पक्षले काम गर्नुपर्ने बताए ।

स्वास्थ्यमन्त्री पुनले शिक्षा र स्वास्थ्य राज्यको पहिलो दायित्व भएको हुँदा सबैलाई यसको पहुँचमा पुर्याउने प्रयास जारी रहेको उल्लेख गरे । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख चोधरीले नेपाल सरकारले लिएको लक्ष्यलाई पूरा गर्न सबै तह लाग्नुपर्ने बताए ।

स्वस्थ शरीर नै व्यस्त जनशक्तिको मुख्य आधार भएको भन्दै उनले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिन लाग्नुपर्ने बताए । जिल्लामा पूर्ण खोपको अवस्थाका बारेमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख अंगबहादुर शाहीले जानकारी गराएका थिए ।

प्रतिक्रिया