नेपालगञ्ज : पश्चिम नेपालको २४ जिल्लाका बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दैआएको नेपालगञ्जस्थित भेरी अस्पतालको सिटी स्क्यान डेढ वर्षदेखि बिग्रिएर बिरामीलाई उपचारमा समस्या भएको छ ।
करिब १८ महिनादेखि सो अस्पतालको सिटी स्क्यान नचल्दा बाँके, बर्दिया लगायतका विभिन्न जिल्लाका दुर्घटनामा परेका तथा अन्य न्युरो सम्बन्धि बिरामीहरूलाई उपचारमा समस्या हुँदैआएको छ ।
सिटी स्क्यान बिग्रिएको यति धेरै समय बिते पनि मर्मत सम्भार वा नयाँ खरिद नगरिँदा विपन्न, गरिब र दुर्गम जिल्लाबाट आएका आर्थिक अवस्था कमजोर भएका बिरामीले उपचार पाउन समस्या भएको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. निराजन सुवेदीले सिटिस्क्यान मेसिनको ट्युब बिग्रिएको जनाउँदै त्यसलाई बनाउन पटक–पटक मन्त्रालयमा प्रयास गरिएपछि यस पटक बजेटमा एक करोड ३२ लाख रुपियाँ छुट्याइएको बताए ।
उनले सो बजेटबाट सिटी स्क्यान मर्मत सम्भार सुरु गर्ने प्रक्रिया शुरु गर्नै लागेको बेला जेनजीको आन्दोलनले देशको अवस्था यस्तो भएपछि स्वास्थ्य मन्त्रालयले हालका लागि कुनै पनि उपकरण मर्मत सम्भार र खरिद नगर्न मौखिक आदेश दिएको बताए ।
पुरानो मेसिनमा एक करोडभन्दा बढी खर्च गर्नुभन्दा नयाँ मेसिन खरिद गरेर ल्याउनेतर्फ लागेकोमा सो प्रयास सफल नभएको मेडिकल सुपरिटेन्डेन्ट डा. सुवेदीले बताए ।
अस्पतालमा सिटी स्क्यान सेवा उपलब्ध नहुँदा कतिपय विपन्न र आर्थिकरूपमा कमजोर बिरामीले उपचारनै नपाएर फर्किने गरेको अवस्था छ ।
सिटी स्क्यान नहुँदा दुर्घटनामा परेर रातिको समयमा आउने बिरामीले सबैभन्दा बढी दुःख पाउने गरेको र उपचारमा समेत ढिलाई हुने गरेको अस्पतालले जनाएको छ । भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत रिसालले दुर्घटनामा परेर रातिको समयमा आउने बिरामीको तत्काल सिटी स्क्यान गर्नुपर्ने हुँदा महँगो अस्पतालमा पठाउनुको विकल्प नहुने गरेको बताए ।
उनले पैसा नहुने बिरामीले सिटी स्क्यान गराउन नसक्दा उपचारनै गराउन नसक्ने अवस्था समेत आउने गरेको बताए ।
सिटी स्क्यानले काम नगर्दा सस्तोमा उपचार सेवा पाउने आसमा भेरी अस्पताल आएका दूरदराजका बिरामीहरूले महँगो शुल्क तिरेर बाहिर निजि स्वास्थ्य संस्थामा गई सिटीस्क्यान गराउन बाध्य रहेको अस्पताल विकास समितिका पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठको गुनासो छ ।
भेरीमा रहेको सिटी स्क्यान मेसिन १३ वर्ष पुरानो रहेकोले गुणस्तरीय उपचारका लागि उक्त मेसिनको मर्मत सम्भार भन्दा पनि नयाँ मेसिन ल्याउनेतर्फ सबैले दबाब दिनुपर्ने अस्पताल विकास समितिले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार