काठमाण्डौ : भारतले पाकिस्तानी भूभागमा लक्षित गरी सुरु गरेको ‘अपरेशन सिन्दूर’ जारी रहेको जनाएको छ । बिहीबार दिल्लीमा केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा सर्वदलीय बैठक बसेको थियो । बैठकपछि केन्द्रीय संसदीय कार्यमन्त्री किरेन रिजिजूले सर्वदलीय बैठकमा रक्षामन्त्री सिंहले सबैलाई ’अपरेसन सिन्दूर’ का बारेमा जानकारी दिएको बताए ।
मन्त्री रिजिजूले भने, ’अपरेसन सिन्दूर अनगोइङ अपरेसन हो ।’ उनले सर्वदलीय बैठक प्रभावकारी ढंगले सम्पन्न भएको बताए । उनले अगाडि भने, ’गम्भीर विषय थियो, त्यसैले सबैले गम्भीरतापूर्वक आफ्ना कुरा राख्नुभयो । रक्षा मन्त्रीले अपरेसन सिन्दूरका बारेमा सबै नेतालाई जानकारी दिनुभयो । विभिन्न दलका नेताहरूले पनि आफ्ना कुराका साथै सुझाव दिनुभयो ।’
सबै दल र नेताहरूले सरकारलाई पूर्ण समर्थन गर्दै सेनाको आक्रमणलाई साथ रहेको विश्वास दिलाएको उनले बताए । सर्वदलीय बैठकपछि कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी नै आउने अपेक्षा गरेको बताए । उनले भने, ’हामी चाहन्थ्यौँ कि प्रधानमन्त्री आफैं आएर सबै कुरा भन्नुहुन्छ । त्यसले सबैलाई राम्रै हुन्थ्यो । उहाँ यसअघिको सर्वदलीय बैठकमा पनि आउनु भएन । यो दुःखको कुरा हो ।’
उनले इन्डिया गठबन्धनका साथै सबै विपक्षी दलले एकस्वरमा सरकारलाई साथ दिएको बताए । उनले भने, ’हामीले सरकारलाई अगाडि बढ, हामी पूरा सहयोग गर्छौं भनेका छौँ । हामी भारतीय सेनाको साथमा छौँ ।’
भारत प्रशासित कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण भएको दुई सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शृंखलाबद्ध हवाई हमला गरेको छ । भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जनाको ज्यान गएको छ । लगत्तै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । त्यस्तै भारतीय आक्रमणमा परी ५७ जना घाइते भएको पाकिस्तानी अधिकारीहरूले जनाएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार