दाङ : दाङ जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार चालू आवको ११ महिनामा सवारी दुर्घटनाबाट ९२ जनाको मृत्यु भएको छ।
उक्त अवधिमा भएका १९७ सवारी दुर्घटनामा ९२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेश शाहीले जानकारी दिए।
अहिले जिल्लामा ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनमा निगरानी बढाएको छ। ट्राफिक नियम प्रभावकारी कार्यान्वयन नभएको जनगुनासो बढेसँगै यसलाई रोक्न ट्राफिक प्रहरीले निगरानी र सक्रियता बढाएको हो।
ट्राफिक प्रहरीका अनुसार चालू आवको साउन १ गतेदेखि जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार ९२ जनाको मृत्यु भएको हो।
जेठमा ६ जना, वैशाखमा १० जना, चैतमा १० जना, फागुनमा १२ जना, माघमा ८ जना, पुसमा १८ जना, मंसिरमा ९ जना, कात्तिकमा ७ जना, असोजमा ४ जना, भदौमा ३ जना र साउनमा ५ जनाको मृत्यु भएको प्रमुख प्रहरी उपरीक्षक शाहीले जानकारी दिए।
उनले भने, “७३ जना पुरुष, १३ जना महिला र ६ जना बालकबालिकाको मृत्यु भएको छ। यस अवधिमा १९७ वटा सवारी दुर्घटना भएका छन्।”
सवारीसाधनको बढ्दो चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्थालगायत कारणले दुर्घटना हुने गरेको उपरीक्षक शाहीले बताए।
ट्राफिक नियम उल्लङ्घन, मादकपदार्थ सेवन र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उनको भनाइ छ।
दुर्घटना रोक्न ट्राफिकको बढ्यो सक्रियता
स्थानीय रुटमा सञ्चालित सवारीसाधनले नियमअनुसार सबै यात्रुले देख्ने गरी सवारी भाडादर टाँस गर्नुपर्ने, फोहर व्यवस्थापनका लागि डस्टबिन (फोहर संकलन गर्ने) राख्नुपर्ने र आरक्षण सिटको व्यवस्था गर्नुपर्ने भए पनि लागू हुन नसकेको गुनासो आएको प्रहरी उपरीक्षक शाहीले बताए।
यी सबै कार्यान्वयनका लागि ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनलाई निगरानीमा राखेको शाहीले बताए। ट्राफिक नियमसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको जानकारी उनले दिए।
बजार क्षेत्रमा अटो अस्तव्यस्त तवरबाट सञ्चालन हुँदा सवारीसाधन तथा पैदलयात्रु आवागमनमा समस्या भएपछि अटोलाई तोकिएको स्थानमा व्यवस्थापन गर्न रुट निर्धारण गरी आगामी साउन १ गतेदेखि कार्यान्वयन गरिने प्रमुख प्रहरी उपरीक्षक शाहीको भनाइ छ।
“पछिल्लो समय विभिन्न कारणले गर्दा सवारी दुर्घटनाबाट जनधनको ठूलो क्षति भएकाले सबै निकाय जिम्मेवार हुन आवश्यक छ”, उनले भने।
जिल्लामा सवारी दुर्घटना धेरै मात्रामा हुन थालेपछि न्यूनीकरणका लागि सक्रियता बढाइएको शाहीको भनाइ छ।
“ट्राफिक व्यवस्थापन हाम्रो पहिलो प्राथमिकता हो, ट्राफिक व्यवस्थापन भयो भने हुनसक्ने सम्भावित दुर्घटना कम हुन्छ। त्यसैले हामीले ट्राफिक व्यवस्थापनका क्षेत्रमा निगरानी बढाउनुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उनले भने, “समस्या समाधानका लागि सबैसँगको सहकार्यमा काम भइरहेको छ।”
कारबाहीबाट उठ्यो डेढ करोडभन्दा बढी राजस्व
प्रहरीले सवारी जाँच तीव्र बनाएसँगै राजस्व संकलन पनि बढेको छ। एक महिनामा ट्राफिक प्रहरीले १९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जेठमा १९ लाख २० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।
गत वैशाखमा १३ लाख २८ हजार ५ सय रुपैयाँ, चैतमा १२ लाख २५ हजार ५ सय रुपैयाँ, फागुनमा ११ लाख ७८ हजार रुपैयाँ, माघमा १३ लाख ५७ हजार ५ सय रुपैयाँ, पुसमा १४ लाख १ हजार ५ सय रुपैयाँ, मंसिरमा १५ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कात्तिकमा ९ लाख १ हजार रुपैयाँ, असोजमा १५ लाख ९८ हजार २ रुपैयाँ, भदौमा ११ लाख ३ हजार ५ सय रुपैयाँ र साउनमा १५ लाख ८५ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शाहीले जानकारी दिए।
चालू आवमा सबैभन्दा धेरै गत जेठमा राजस्व संकलन भएको छ। जेठमा १ हजार ९०३ सवारीसाधन कारबाहीमा परेका प्रहरीले जनाएको छ। चालू आवमा सबैभन्दा धेरै मोटरसाइकल र टेम्पु कारबाहीमा परेका शाहीले बताए।
वैशाखमा १ हजार ५२६, चैतमा १ हजार ३९५, फागुनमा १ हजार ३६५, माघमा १ हजार ५३२, पुसमा १ हजार ५७७, मंसिरमा १ हजार ९३८, कात्तिकमा १ हजार ५६२, असोजमा २ हजार ३०५, भदौमा १ हजार ५५८ र साउनमा २ हजार १५५ सवारीसाधन कारबाहीमा परेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार