Listen LIVE

वीरेन्द्रनगरमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाएनन्

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा काजमा कार्यरत स्वास्थ्यका कर्मचारी लामो समयदेखि तलबविहीन भएका छन् । सङ्घीय संरचनामा गएपछि तीन तहका सरकारबिच समन्वय अभावका कारण उनीहरूले तलब पाएका छ्रैनन् । 

नगरपालिकाभित्रका २५ स्वास्थ्यकर्मीले एक वर्षदेखि तलबभत्ता पाएका छैनन् । तलब नपाएपछि कर्मचारीले गुनासो गर्न थालेका छन् । रकम निकासा नहुँदा नगरपालिकामा कार्यरत २५ स्वास्थ्यकर्मीले एक वर्षदेखि तलबभत्ता पाउन नसकेका हुन् ।

वीरेन्द्रनगर अस्पतालमा कार्यरत किशोरकुमार रावलले एक वर्षदेखि तलब नपाएको बताए । उनी २०७८ वैशाख ५ गते दैलेखको ठाटीकाँध गाउँपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य केन्द्र अगालडाँडाबाट काज सरुवा भएर आएका हुन् । आफूहरूको समस्यामा नगरपालिका बेखबर बनेको उहाँको भनाइ छ । सरकारले जिम्मेवारी, काम, कर्तव्य र तलबविहीन बनाएको स्वास्थ्यका कर्मचारीको आरोप छ । नगर अस्पतालमै कार्यरत हेल्थ असिस्टेन्ट बासमती शाहीले सरकारले समयमै तलब उपलब्ध नगराउँदा समस्या भएको जानकारी दिइन् । एक वर्षदेखि कामकाज र तलबविहीन बनेको भन्दै उनले सरकारले आफूहरूमाथि अन्याय गरेको बताइन् । 

नगर अस्पतालमै कार्यरत स्वास्थ्यकर्मी उदय थापाले नेपाल सरकारले एक वर्षदेखि तलब नदिएर आफूहरूमाथि विभेद गरेको बताए । पटक पटक सम्बन्धित निकायमा जानकारी गराउँदासमेत समस्याको सुनुवाइ नभएको उनको भनाइ छ । उनी २०७८ वैशाखमा बराहताल गाउँपालिकाबाट वीरेन्द्रनगरमा काज सरुवामा आएका हुन् । नेपाल सरकारले नै कर्मचारीको तलब नपठाउँदा कर्मचारी समस्यामा परेको वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीले बताए । गत साउनदेखि स्वास्थ्यका कर्मचारीले तलबभत्ता नपाएको उनले जानकारी दिए । गिरीका अनुसार नगरपालिकामा दरबन्दीका ३८ जना र काजमा ५२ सहित नगरपालिकाले राखेका करारका १९ जना कर्मचारी छन् । तीमध्ये नेपाल सरकारका २५ कर्मचारीले तलब खान नपाएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २०७५ सालदेखि हालसम्म ८९१ कर्मचारी काजमा सहरकेन्द्रित पालिकामा कार्यरत छन् ।

प्रतिक्रिया