Listen LIVE

सुरक्षित आप्रवासन कार्यक्रम समन्वय समितिको बैठक सम्पन्न

नेपालगञ्ज : सुरक्षित आप्रवासन (सामी) कार्यक्रम समन्वय समितिको बैठक आज नेपालगञ्जमा सम्पन्न भएको छ । समितिका संयोजक एवम् नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा सामी कार्यक्रम लागू भएका बाँके जिल्लाका चार वटै स्थानीय तहमा चालू आर्थिक बर्ष २०८०/८१ मा भएको प्रगति कार्यक्रम संयोजक कमल सिंह नेपालीले प्रस्तुत गरेका थिए । त्यस उपर छलफल भई पृष्ठपोषण प्राप्त भएको सामाजिक परिचालन अधिकृत घनश्याम वलीले जानकारी दिए । 

आगामी आर्थिक बर्ष २०८१/८२ मा सञ्चालन हुने चौथो चरणको कार्यक्रम र बजेटका सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्र बमोजिम सुरक्षित आप्रवासन कार्यक्रमको आगामी चरण सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा लागत साझेदारी हुने गरी बजेट विनियोजन गर्नुपर्ने भएकाले बाँके जिल्लामा हालसम्म लागू भएको चार वटा स्थानीय तहमा आर्थिक बर्ष २०८१/८२ मा साझेदारी गर्नुपर्ने रकम रु. १२ लाख ६४ हजार ७ सय हुने भएकाले सो अनुसारको जानकारी सम्बन्धित सबै स्थानीय तहलाई जानकारी गराउने निर्णय गरिएको छ ।

बैठकमा नेपालगञ्जका प्रमुख विष्टले बढ्दो बैदेशिक रोजगारीको अवस्थालाई हेर्दा संघीय मन्त्रालयको प्रस्ताब बमोजिम यो कार्यक्रममा स्थानीय तहले लागत साझेदारी गर्नुपर्ने देखिएकाले आगामी गाउँ नगर सभामा नीति कार्यक्रममार्फत सम्बोधन गर्ने गरी अघि बढ्न आवश्यक देखिएको बताए । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले सामी कार्यक्रमको प्रभावकारिता देखिएकाले निरन्तरताका लागि स्थानीय सरकारको साझेदारी रहने बताए ।   

बैठकमा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझी, नेपालगञ्ज उपमहानगरपालिका आर्थिक विकास समिति संयोजक गोपाल पुन, कोहलपुर नगरपालिका सामाजिक समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशी लगायतको उपस्थिति थियो । 

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

प्रतिक्रिया