महोत्तरी : प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका ६ मा नवनिर्मित प्रसूति गृहको उदघाटन गरेका छन् । मटिहानी नगरपालिकाको वडा ८ मा बिग्ही नदीमा निर्माण गरिएको पुलको उदघाटनपश्चात् प्रधानमन्त्री ओली मटिहानीकै वडा नं. ६ मा पुगेर प्रसूति गृहको उदघाटन गरेका हुन् ।
राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको सहयोगमा करिब २ करोडको लागतमा निर्माण गरिएको सो प्रसूति गृहको उदघाटन प्रधानमन्त्री ओलीले गरेका हुन् ।
मटिहानी नगरपालिका वडा ६ को जरलहवा गाछीभन्दा दक्षिणमा निर्माण गरिएको सो पाँच शय्याको प्रसूति गृहको उदघाटनसँगै यस क्षेत्रका प्रसूति हुने महिलाहरु लाभान्वित हुने जनाइएको छ ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी नगरपालिकामा बजेट अभावमा ५० शय्याको अस्पताल बनाउन नसकिएको बताउँदै पाँच शय्याको प्रसूति गृह निर्माणबाट आमा र बच्चा दुवैको स्वास्थ्य बचाउन सकिने बताए ।
नवनिर्मित प्रसूतिगृहमा अपरेशन कोठा, एनआइसी कोठा, डिलेभरी कोठा, वेटिङ रुम, ओपिडी कोठा, फार्मेसी कोठा, नर्सिङ कोठा, शौचालय, सोधपुछ लगायतका सुविधासम्पन्न कोठाहरु छन् । मटिहानीवासीहरुले प्रसूति गृह निर्माणसँगै शल्यक्रिया, नवजात शिशुहरुको लागि राम्रो हुने जनाएका छन् ।
उदघाटनको अवसरमा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीलगायतका उपस्थिति थियो ।
एक करोड अठासी हजार रुपैयाँको लागतमा श्री कालिका कन्सट्रक्सन प्रा.लि.भरतपुर चितवनले ठेक्का पाएको सो भवन २०८१ माघमा निर्माण सम्पन्न भएको जनाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार