नरैनापुर (बाँके) : सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय २१ वर्ष पछि पुनःस्थापना भएको छ । आज आयोजित भवन उदघाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका ऊर्जा जल स्रोत तथा सिचाई मन्त्री कृष्ण केसी नमुनाले इलाका प्रशासनको स्थापनासँगै अब स्थानीयवासीलाई जिल्ला सदरमुकाम नेपालगञ्ज जानु पर्ने बाध्यताको अन्त्य भएको बताइन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले गृह मन्त्रालयसँगको लामो प्रयासपछि दरबन्दी स्वीकृत भएर इलाका कार्यालय स्थापना भएको बताए । इलाका प्रशासन कार्यालय नरैनापुर बिगत २१ बर्ष देखि नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको थियो ।
नागरिकता, प्रशासनिकलगायत सेवा लिन स्थानीयवासी करिब ४५ किलोमिटरभन्दा बढी दूरी पार गरेर नेपालगञ्ज जाने गरेका थिए । गाउँपालिकाले कृषि शाखाको भवन दिए पछि इलाका प्रशासन कार्यालय स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीले इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गर्न विगतमा नरैनापुरवासीले पाँच हजार हस्ताक्षर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको स्मरण गर्दै उनले लामो समय पछि नरैनापुरमा स्थापना भएको इलाका प्रशासनले जनतालाई ठुलो राहत पुग्ने बताए । प्रशासकीय अधिकृत माधव सिंहको नेतृत्वमा ३ जना नासु र १ जना कम्प्युटर अप्रेटर र २ जना कार्यालय सहयोगीलाई पठाएको छ ।
सो कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक तुल बहादुर कार्की, अनुसन्धानका उपनिर्देशक ओम खड्का, बहिनी पति रबिन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार