Listen LIVE

नेपालगञ्ज १० को वडा भेला सम्पन्न

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १० न वडा कार्यालयको वार्षिक योजना, वडा भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष ०८३/०८४ को लागि वार्षिक योजना तर्जुमा प्रस्ताव संकलनका लागि गरिएको भेलामा आर्थिक वर्षको वार्षिक प्रगति समिक्षा पनि गरिएको थियो । 

नेपालगञ्ज विद्युत रोडस्थित आरबी ब्याङ्कीट हलमा सञ्चालन गरिएको भेलामा वडा सचिव शान्ता घर्तीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का लागि एक करोड १० लाख ७७ हजारको बजेट सिलिङ नेपालगञ्ज उपमहानगरपालिकाबाट प्राप्त भएको जनाइन् । कार्यक्रम सञ्चालिका समेत रहेकी वडासचिव घर्तीले आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न भएका समग्र योजना र आगामी कार्यक्रम तथा योजनाबारे पनि प्रकाश पारिन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपालगञ्ज उप महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले भेलाले वडाबासीको भावना र मागलाई सम्बोधन गर्ने बिश्वास व्यक्त गरे । स्थानीयको हातेमालोे नै समग्र विकास र समृद्धिको आधार भएको समेत उनले  उल्लेख गरे । 

नेपालगञ्ज उपमहानगरपालिका १० नं. वडाका अध्यक्ष श्रवणकुमार श्रेष्ठले स्थानीयको आवश्यकतालाई मध्यनजर गरेर आगामी कार्यक्रम र योजना तय गरिने स्पष्ट पारे । वडा सदस्य विना थापामगरले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा वडा सदस्य दिपेन्द्र श्रेष्ठले वडाको समग्र विकास बारे जानकारी दिँदै  सहभागीले उठाएका जिज्ञासाको जवाफ दिए ।

यस्तै सहभागीहरुले आर्थिक वर्ष २०८३/०८४ को लागि आफ्नो योजना लिखित तथा मौखिकरुपमा प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा कर्मचारी, पुर्ब कर्मचारी, निवृत्त स्वास्थ्य स्वयंसेविका, भृकुटी टोल बिकास संस्था, शिक्षा, स्वास्थ्यमा योगदान पुर्याउने न्युरो अस्पताल, शंकर मेडिकल, आदर्श माबी, जेष्ठ नागरिक, समाज सेवी  लगायत १९ जनालाई सम्मान गरिएको थियो । 

जनप्रतिनिधि, वडाका कर्मचारी, राजनीतिककर्मी, टोल विकास संस्थाका अध्यक्ष, नागरिक समाजको अग्रज, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी लगायतको सहभागिता रहेको वडा भेलामा सडक निर्माण, नाला निर्माण, सरसफाई, बत्ति व्यवस्थापन, लागूऔषध नियन्त्रण आदि विषय प्राथमिकतामा राख्न माग गरिएको थियो ।

प्रतिक्रिया