Listen LIVE

बाँकेमा १४१ ग्राम लागुऔषधसहित चारजना पक्राउ

नेपालगञ्ज : पछिल्लो समयमा बाँकेको नेपालगन्ज लगायतको सीमावर्ती क्षेत्र लागुऔषध सेवन र बिक्री वितरणको केन्द्र बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले निरन्तर अभियान चलाए पनि लागु औषधको सेवन र कारोबार रोकिएको छैन।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, पटक–पटक सञ्चालन गरिएको अभियान र अपरेसनबाट लागू औषध सेवन तथा कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परे पनि समस्या समाधान भएको छैन।

उनले सीमा नजिकका रुपैडिहा र नानपा क्षेत्रमा खुलेआम लागुऔषधको बिक्री वितरण भइरहेकाले नेपाली युवाहरू सहजै ल्याउन सक्ने अवस्था रहेको बताए।

सोही क्रममा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले १४१ ग्रामभन्दा बढी ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी नायब उपरीक्षक पातलीका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका–१, राष्ट्रिय वाणिज्य बैंक नजिक जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूको साथबाट करिब १४१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर जस्तो खैरो धुलो पदार्थ बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुर बस्ने सोनु जोलाहा, इरफान जोलाहा, मन्ना जोलाहा र वडा नम्बर १८ बस्ने सुमेर शेख रहेका छन्। उनीहरूलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालयले लागुऔषध ओसारपसार तथा कारोबारविरुद्ध अभियान अझ कडाइका साथ अघि बढाउने बताउँदै, रोकथामका लागि भारतीय सीमावर्ती जिल्ला बहराईचका सुरक्षा अधिकारीहरूसँग समेत सहयोग मागिने जानकारी दिएको छ।

यसअघि केही दिनअघि नेपालगञ्ज–१६, जयसपुरकै एक युवाको अत्यधिक लागुऔषध सेवनका कारण बेहोस भएर भारतको रुपईडिहामा मृत्यु भएको थियो।

प्रतिक्रिया