नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकास्थित राप्ती सिधनियाघाटमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि गंगा महाआरती सुरु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ राप्ती नदीस्थित श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा श्रावण शुक्ल पूर्णिमाका दिन सोमबार साँझ ७ बजे महाआरती सुरु भएको हो । सोमबार सुरु भएको पहिलो आरतीमा जिल्लाका विभिन्न स्थानबाट स्थानीय सर्वसाधरण भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार र जिल्लाका विभिन्न स्थानबाट आउने धार्मिक पर्यटकलाई स्वागत गर्नका लागि महाआरती सुरु गरिएको मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताए । उनका अनुसार अब हरेक महिनाको पूर्णिमाको दिन नियमितरुपमा महाआरती हुनेछ ।
राप्ती नदी पर्यटकीय क्षेत्रको रुपमा पनि परिचित रहेको छ । नदीमा प्रत्येक वर्ष कार्तिक पूर्णमासी र चैत्र रामनवमीमा स्नान मेला, साउन महिनामा बोलबम (कवाँरिया), दशैंमा दुर्गामूर्तीको प्रतिमा विसर्जन, शुभदिपावली पर्वको अवसरमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा महाशिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शवदाह लगायतका कार्यक्रमहरु हुने गरेको छ ।
राप्ती नदी, पुल, मन्दिर र निर्माण हुन लागेको बैकुण्ठधामले त्यस आसपासको क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न थालिएको स्थानीय अगुवा सूर्यलाल यादवले बताए । उनका अनुसार यस क्षेत्रलाई जिल्लामै पहिचान गराई यहाँको सम्भावनालाई दिगो बनाउन पहल गरिएको हो ।
राप्ती नदीमा अहिले डुडुवा गाउँपालिकाको सहयोगका शवदाह केन्द्र निर्माण भइरहेको छ भने बैकुण्ठधाम सिधनियाघाट पनि निमार्ण हुन लागेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार