बर्दिया : धान भित्र्याउने समय सुरु भएका बेला बर्दियामा सोमबार राति आएको हावाहुरीसहितको वर्षाले धानबालीमा क्षति पुर्याएको छ । पाकेको तथा पाक्ने तयारीमा रहेको धान हावाहुरीले ढलेपछि किसानलाई बाली स्याहार्न समस्या भएको हो ।
गुलरिया नगरपालिका, मधुवन नगरपालिकालगायतका क्षेत्रमा सोमबार राति तीव्र हावाहुरी चलेको थियो । हावाहुरीपछि परेको वर्षाले खेतमा पानी जम्दा ढलेको धान डुबेको किसानले बताएका छन् । यसअघि लगातार तीन दिनसम्म परेको वर्षाले समेत धानबालीमा असर पुगेको थियो । सोमबारको हावाहुरीले थप क्षति पु¥याएको किसानको भनाइ छ ।
गुलरिया नगरपालिका–७, चौगुर्जीका किसान प्रवेश यादवले पाकेको र पाक्ने तयारीमा रहेको धान हावाहुरीले ढालेको बताए । उनले धान भित्र्याउने समयमै बर्सात र हावाहुरी आएपछि उत्पादन घट्ने चिन्ता बढेको बताए ।
हावाहुरीले धानसँगै केरा खेतीमा समेत क्षति पुर्याएको छ । गुलरिया नगरपालिका–४, कोटही टोलका केरा किसान कमल ज्ञवालीले चाडपर्वलक्षित बेच्न तयार हुँदै गरेको केराको बोट हावाहुरीले ढालेको बताए ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका सूचना अधिकारी फिर्तुमान चौधरीले स्थानीय तहबाट क्षतिको विवरण प्राप्त नभएसम्म क्षतिको यकिन आकलन गर्न नसकिने बताए । यसअघि परेको वर्षाबाट भएको क्षतिको विवरण पठाउन स्थानीय तहलाई पत्राचार गरिए पनि विवरण प्राप्त नभएको उनले जानकारी दिए ।
बर्दियामा गुलरिया, बारबर्दिया र राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकामा बढी धान खेती हुँदै आएको छ । यहाँ उत्पादन भएको धान बाँके, सुर्खेत, भैरहवालगायतका सहरमा बिक्री हुने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार