सल्यान : चाडपर्व नजिकिएसँगै काठमाडौँलगायत मुलुकका प्रमुख सहरमा सल्यानी खसीबोकाको माग बढेको छ । विशेष गरी सल्यानको पहाडी भूगोल र हावापानीमा हुर्किएका स्थानीय खरी जातका छोटा कान, लामो सिङ भएका डल्ले तथा भुन्टे खसीबोकाको मासु स्वादिलो र गुणस्तरीय हुने भएकाले सहरी क्षेत्रका उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ ।
चाडपर्वमा मात्र नभई अघिपछि विवाह, व्रतबन्ध तथा विभिन्न भोजभतेर र पार्टीमा समेत सल्यानी खसीको माग उच्च रहने गरेको व्यवसायी बताउँछन् । काठमाडौँ र पोखरा जस्ता सहरमा सबैभन्दा बढी सल्यानी र त्यसपछि दैलेखका खसीको माग रहने गरेको विगत ३३ वर्षदेखि खसीबोकाको कारोबार गर्दै आएका व्यवसायी नन्दराम खत्रीले बताए ।
पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानको वार्षिक तथ्याङ्क अनुसार जिल्लाबाट हरेक वर्ष करोडौँ रुपैयाँ बराबरको खसीबोका बाहिरी जिल्ला निकासी हुँदै आएको छ । चाडपर्वको समयमा सल्यानका गाउँघरमै पुगेर व्यापारीले खसीबोका खरिद गर्छन् ।
कपुरकोट गाउँपालिका–५ मा विजय एन्ड विश्व रिमाली बाख्रा फार्म सञ्चालन गर्दै आएका व्यवसायी खत्रीले आफू एक्लैले मात्र वार्षिक एक करोड २० लाख रुपैयाँसम्मको खसीबोकाको कारोबार गर्ने गरेको जानकारी दिए । उनका अनुसार हाल सल्यानमा आधिकारिक रूपमा खसीबोकाको ठुलो कारोबार गर्ने व्यवसायी २० देखि २५ जना छन् ।
व्यापारीले गाउँघरमा पुगेर किसानबाट जिउँदो खसीको तौलका आधारमा मूल्य तय गरी खरिद गर्ने गरेका छन् । हालको बजार मूल्य अनुसार ५० किलोभन्दा माथिका जिउँदा खसीको प्रतिकिलो ६५० रुपैयाँका दरले खरिदबिक्री हुने गरेको छ ।
५० किलोभन्दा कम तौल भएका खसीबोकाको मूल्य प्रतिकिलो ६१० देखि ६३० रुपैयाँसम्म पर्ने गरेको छ । किसानले पनि चाडपर्वलक्षित खसीबोका तयार पार्ने भएकाले यस समयमा गाउँघरमै उचित मूल्य पाउँदा उनीहरूको आयआर्जनमा ठुलो टेवा पुगेको छ ।
जिल्लामा बर्सेनि ७० करोड रुपैयाँभन्दा बढी खसीबोका बिक्रीबाट आम्दानी हुने गरेको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानले २०८१/८२ मा ६१ करोड तथा आव २०८२/८३ मा ५९ करोड नौ लाख चार हजार रुपैयाँ बराबरको खसी निकासी भएको जनाएको छ ।
अन्य तरिकाले पनि व्यापारीले खसी बिक्री गर्ने गरेको भन्दै कार्यालयका सूचना अधिकारी प्रदीप रावलले यो भन्दा अझै ठुलो रकम भित्रिने गरे पनि आधिकारिक विवरण नआएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार