Listen LIVE

हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’

काठमाडौ :  हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रमसँगै प्रहसन पनि सुरु भएको छ। काठमाडौँमा कमलादीमा रहेको प्रज्ञा–प्रतिष्ठान र जमलमा रहेको नाचघरमा दुई समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन्। पुरानासँगै नयाँ पुस्ताका कलाकारले भरिएको कार्यक्रम यही भदौ १० गतेसम्म चल्नेछ। 

गाईजात्रा पर्वको परम्परा र संस्कृतिसँगै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि विद्यमान राजनीतिक, सामाजिक, आर्थिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गरेर कलाकारले आफ्नो प्रस्तुति दिने गरेका छन्। 

विसं २०६१ देखि हरेक वर्ष गाईजात्राको प्रस्तुति दर्शकसामु पस्किरहेका ‘जोगिन्दर’ उपनामले परिचित हास्य कलाकार शिवशङकर रिजालले आफ्ना लागि पर्व सुरु भएको बताए। उनले भने, ’मैले कलाकारिता गरेदेखि नै गाईजात्रामा सहभागिता जनाउनाका साथै यससम्बन्धि प्रस्तुति ल्याइरहेको छु, वर्षभर भएका विकृतिलाई व्यङ्ग्य गर्नु र सचेत गराउनु हाम्रो कर्म र धर्म दुवै हो।’

यसपटक उनले नाचघरमा आफ्नो प्रस्तुति दिइरहेका छन्। उनीसँगै सीताराम कट्टेल, कुञ्जना घिमिरे, सुरेन्द्र केसी, राजा राजेन्द्रलगायत कलाकारको समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन्। कलाकार दीपकराज गिरी चलचित्र निर्माणमा आबद्ध भएदेखि टेलिशृङ्खला र गाईजात्राका प्रहसनमा सहभागी छैनन्। उनीसहित केदार घिमिरे, जीतु नेपाल यसपटक कुनै समूहसँग जोडिएका छैनन्। राजनीतिक घटनाक्रम, सामाजिक विकृति–विसङ्गतिदेखि, फेसन र ग्ल्यामरसम्मका विकृतिलाई व्यङ्ग्य गर्ने पर्वमा यसपटक हास्य कलाकार किरण केसीले पनि कुनै प्रस्तुति ल्याएका छैनन्।

यद्यपि उनी केही समय अगाडि मात्र ‘मह जात्रा’ मा सहभागी भएर प्रवासी नेपालीलाई हँसाए। यसपटक तिहारको समयमा आफूसहित मह सञ्चारको प्रस्तुतिको तयारी गरिरहेको उनले जानकारी दिए। ’अहिले दुई समूहले दर्शकलाई मनोरञ्जन दिनुभएको छ, मसहित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले अहिले कार्यक्रम गरेनौँ, यद्यपि हामीले आफ्नो प्रसहनलाई मह जात्रामार्फत दर्शकसम्म लग्नेछौँ’, उनले भने। 

विसं २०६० ताका आफूले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रज्ञा–प्रतिष्ठानमा एकै समयमा प्रहसन गरेको पनि उनलाई स्मरण छ। ’उक्त समयमा एउटा कार्यक्रम सक्ने बित्तिकै अर्को पुग्ने गर्थे, हामीलाई दर्शकले प्रत्यक्ष हेरेर लिने मनोरञ्जन अनि हामीले उहाँहरुको हाँसो देखेर पाउने सन्तुष्टिलाई शब्दमा व्यक्त गर्न सक्दिन, अहले नयाँ पुस्ताले यसलाई अगाडि बढाउनुभएको छ’, हास्य कलाकार केसीले भने। 

विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ। गाईजात्रामा वर्षभरिको शोक र दुःख भुलाउन हास्य व्यङ्ग्यका कार्यक्रम र प्रस्तुति प्रस्तुत गर्ने परम्परा छ। यस वर्ष भदौ ४ गते गाईजात्रा पर्व परेको छ।

प्रतिक्रिया