Listen LIVE

बाँकेमा असार महिनामा ६४ जना फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनाभर ६४ जना फरार प्रतिवादीलाई पक्राउ गर्दै कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाएको छ । बाँके प्रहरीले ३ वर्ष ३ महिना ११ दिन कैद र ३ लाख १३ हजार ७२७ रुपैयाँ जरिवाना असुलउपर गर्नुपर्ने भएका ६४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै असार मसान्तसम्म प्रहरीले ८५ लाख ३६ हजार ८ सय रुपैयाँ बराबरको अबैध भन्सार छलीको सामान, अवैध तस्करीमा प्रयोग भएको एउटा भ्यान र ३ वटा मोटरसाइकल बरामद गरी आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको जानकारी दिएको छ ।

अवैध तस्करी रोक्ने क्रममा बाँके प्रहरीले अबैधरुपमा भारतबाट ल्याइएको १ लाख ६० हजार रुपैयाँको ब्रोइलर कुखुराको चल्ला बरामद गरेर पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा बुझाएको जनाएको छ ।

त्यस्तै बाँकेभर गरिएको ट्राफिक कारबाहीतर्फ २७५४ वटा सवारी साधनलाई कारवाही गर्दै असारभर २१ लाख ४९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको जिल्ला प्रहरीले बाँकेले जानकारी दिएको छ ।

प्रहरीले असारमा दर्ता भएका १४५ वटा मुद्दामा ९१ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ भने ५४ वटा पेन्डिङ भएका मुद्दालाई फर्छ्यौट गरेको हो ।

असारभर प्रहरी कार्यालयमा परेको ठाडो उजुरीतर्फ  ४२४ वटा मुद्दा प्राप्त भएको ३५२ फर्छ्यौट भएकोमा १० वटा सम्बन्धित निकायमा पठाइएको र ६२ वटा बाँकी निबेदन फर्छ्यौट प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँँगीले बताए ।

लागूऔषध ओसारपसारबिरुद्धको अपरेसनमा बैंक प्रहरीले २५ ग्राम ९४० मिलिग्राम ब्राउनसुगरसहित १७ जना ओसारपसारकर्ताहरुलाई पक्राउ गरेर कानूनी दायरामा ल्याएको छ ।

बाँके प्रहरीले असार ३० गते नेपालगन्ज–४ स्थित आफ्नै घरबाट हराएको मोटरसाइकल फेला पार्दै सम्बन्धित सवारी धनीको जिम्मा लगाएको जानकारी दिएको छ भने  हराएका १५ थान मोबाइल फेला पारेर सम्बन्धित ब्यक्तिलाई बुझाएको छ । त्यस्तै प्राचीन स्मारक (बुद्धको मुर्ती) सहित ३ जना ब्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको डीएसपी डाँँगीले जानकारी दिएका छन् ।

महिला तथा बालबालिका सम्बन्धि मुद्दातर्फ असारभर बाँके प्रहरीमा १४ वटा मुद्दा दर्ता भएकोमा १२ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको हो । घरेलु हिंसातर्फ ७० वटा उजुरी प्राप्त भएकोमा ४६ वटा फर्छ्यौट भएको र बाँकी अनुसन्धानको क्रममा रहेको जिल्ला प्रहरीले बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी बाँकेले असारमा मात्रै हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिकको निवेदनतर्फ ३४  प्राप्त भएकोमा १४ जना फेला पारी परिवारको जिम्मा लगाएको तथा बाँकीहरुको खोजतलास जारी रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया