कालीकोट : जिल्लाको खाँडाचक्र नगरपालिका–७, पिली युद्ध पर्यटकीय स्थलका रूपमा परिचित हुन थालेको छ । पिलीमा स्थानीय सरकारको अगुवाइमा प्रदेश र केन्द्र सरकारका विभिन्न कार्यक्रममार्फत युद्ध पर्यटकीय क्षेत्र बनाउन लगानी हुँदै आएको छ । कोपडाँडामा युद्ध सङ्ग्रहालयका लागि पक्की भवन र द्वन्द्वका क्रममा पिलीमा मारिएका सहिदको नामावलीसहितको स्मारक राखिएको छ ।
पिलीको उकालोमा छेकबारसहितको पैदलमार्ग निर्माण गरिएको छ । केही घरमा होमस्टे सञ्चालनका लागि पूर्वाधार र व्यवस्थान स्थानीय आफैँले गरिरहेका छन् । भानाढुङ्ग्री डाँडामा नेपाल टेलिकमले टावर खडा गरेसँगै सञ्चार सेवा सहज बनेको छ । कर्णाली प्रदेशको पर्यटन मन्त्रालयमार्फत दुई करोड ६० लाख रुपियाँ खर्चेर तीन वटा भवन र स्टिलको छेकबारसहितको बाटो बनाइएको छ । अहिले यस क्षेत्रमा आन्तरिकदेखि बाह्य पर्यटकका लागि विश्राम स्थल बनेको छ ।
यहाँ आउने तस्बिर खिच्ने र घटनाका बारेमा स्थानीयसँग जानकारी लिन लालायित हुने गरेको स्थानीयले बताएका छन् । मुख्य गरी रारा जाने मूल बाटोमै भएकाले यहाँ एक पटक विश्राम गरेर पर्यटक रारातर्फ जाने गरेका छन् । सुक्खा क्षेत्र मानिने पिलीमा दाहा र चौकीबाट ल्याइएका खानेपानी तथा सिँचाइ आयोजनाले हरियाली बनाउने प्रयास पनि भइरहेको छ । नाङ्गा डाँडामा वृक्षरोपण गरिएको छ । पाँच वर्षअघि रोपिएका ४० हजार बिरुवामध्ये केही बिरुवा हुर्किने अवस्थामा छन् ।
स्थानीय पङ्खबहादुर मल्लले बर्सेनि पाँच हजारका दरले नयाँ बिरुवा पनि रोपिने गरेको भए पनि सुक्खा जमिन भएकाले २० देखि २५ प्रतिशतसम्म मात्र बिरुवा हुर्किने गरेको बताए । वातावरण संरक्षणका लागि पिली गाउँका नागरिक पनि सक्रिय हुँदै आएका छन् । पिलीको डाँडा अहिले सबै पिकनिक स्थलका रूपमा विकसित हुँदै गएको कुरा स्थानीयले बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार