Listen LIVE

बजारमा अभाव हुन नदिन तरकारी खेती

टीकापुर : वर्षा लागेपछि तरकारी उत्पादन घट्दा बजारमा तरकारी अभाव छ । तरकारीको मूल्य बढेको छ । कैलालीको गौरीगङ्गा –१० भगतपुरका सीमा चौधरीको बारीमा भने यतिबेला काँक्रा, लौका, बोडी, भिण्डी, लटरम्म फलेका छन् । तीनवटा प्लाष्टिक घरभित्र रायोको साग हुर्किँदै छ । 

सीमाको बारीबाट अहिले ५५ रुपैयाँ किलो काँक्रा, ४० रुपैयाँ किलो लौका, ८० रुपैयाँ किलो बोडी, १०० रुपैयाँ किलो भिण्डी थोकमा बिक्री भइरहेको छ । दैनिक तीन हजार ५०० बराबरको तरकारी उत्पादन भइरहेको छ । आउँदो हप्ता दोब्बरभन्दा बढी उत्पादन हुने उनको बुझाइ छ ।  २० दिनमा खान मिल्नेगरी तीन वटा प्लाष्टिक घरमा साग हुर्किँदै छ । अहिले फलिरहेको तरकारी र साग बेचेर साउन र भदौमा सात कठ्ठामा लगाएको तरकारीले लाखौँ कमाइ हुने आशा उनको छ । 

वि.सं. २०६४ सालमा बिहे गरेकी सीमाको त्यही वर्ष घर छुट्टियो । ससुराको निधन भयो । एकै पटक खर्चको ठुलो झटका लागेपछि दैनिक खर्च धान्न उनलाई कठिन भएको थियो । 

‘के गरौँ कसो गरौँ भन्ने उनलाई भयो । आय–आर्जनको केही बाटो नभएपछि एक कठ्ठा जग्गामा तरकारी लगाउन थालिन् । टमाटर काँक्रा खुर्सानी लगायो त्यति हुर्काउन पनि कठिन भयो । फलेपछि बेच्न कठिन भयो’ सीमाले भनिन, ‘मूल्य कति भन्ने थाहा थिएन । कसरी लैजाने भन्ने समस्या थियो, साइकल त थियो तरकारी लैजाने भाँडो नभएपछि घरैमा काठको क्रेट बनाएर त्यसैमा तरकारी लिएर बजार जान्थेँ ।’

सीमाले साइकल र मोटरसाइकलमा १३ वर्ष तरकारी बेचिन् । मोटरसाइकल किनिन् । पम्पसेट लगायतका कृषिऔजार किनेर घरखर्च चल्यो । चार कोठे पक्की घर बनाइन् । 

सामुदायिक स्वास्थ्य चिकित्सा (अहेव) पढेका सीमाका श्रीमान् फिर्तुराम गाउँमै मेडिकल खोलेका थिए । गाउँमा सेवा लिने नै कम आउने र आएकाहरू पनि नगदभन्दा उधारो लिने धेरै भए । घाटामै एक दशक चलेको मेडिकल २०७७ सालमा कोभिडको महामारी आएपछि चल्न नसक्नेगरी डुब्यो । सीमाको तरकारी बजार भने कम भएन । त्यस यता सीमाको दम्पतीले सात कठ्ठा आफ्नो र १२ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । 

संस्थाको सहयोग 

पछिल्लो समय भगतपुर गाउँका अन्य किसान तरकारी खेतीतिर आकर्षित भइरहेका छन् । परम्परागत रूपमा खेती गर्ने किसानलाई व्यावसायिक बनाउन दिगो विकास समाजले सहयोग पनि गरिरहेको छ । संस्थाले समूहलाई सहयोग गर्ने भनेपछि भगतपुर गाउँमा तरकारी खेती गर्ने मिलीजुली कृषक समूह गठन भएको छ । 

१९ जना सम्मिलित समूहलाई दिगो विकासले साढे तीन लाख दिएको छ । समूहले डेढ लाख थपेर पाँच लाखको तरकारी एम्बुलेन्स (पेट्रोल रिक्सा) किनेको छ । संस्थाले सीमालाई थप तीनवटा प्लाष्टिक घर दिएको छ । अन्य किसानलाई पनि तालिम, पोलिहाउस, कृषि औजार दिएको छ । 

६ कठ्ठा जग्गामा तरकारी खेती गरेका अर्का किसान शिवचरण चौधरी सीमाको परिवार तरकारी खेतीमा अब्बल रहेको बताए । पछिल्लो पटक भगतपुरका अरू किसान तरकारी खेतीमा आकर्षित भइरहेको उनको भनाइ छ ।   

गौरीगङ्गा नगरपालिकाका प्राविधिक सहायक विनोद चौधरी भगतपुरमा उत्पादन भएको तरकारी बाह्रै महिना नगरका मसुरिया, बडैपुर, चौमाला बजार र छिमेकी पालिकाका बजारमा आपूर्ति भइरहेको बताए । उनले भने, ‘तरकारीका लागि योग्य जमिन र उद्यमी किसान भएकाले राम्रै छ । यसमा संस्थाको सहयोगले व्यावसायिक बन्न टेवा पुगेको छ ।’

प्रतिक्रिया