Listen LIVE

बर्दियाका थारु समुदायमा गुरही पर्व मनाउने तयारी

नेपालगञ्ज : ठाकुरबाबा नगरपालिका वडा नं. ३ मिर्चैयामा यस बर्ष पनि भव्यरुपमा गुरही पर्व मनाउने भएको छ । थारु समुदायमा हरेक बर्ष झै यस बर्षपनि यही साउन २५ गते गुरही पर्व मनाउने भएको हो । 

हमार कला संस्कृति परम्परा हमार पहिचान, एकर संरक्षण व सम्वद्र्धन कैना हमार अभियान भन्ने मुल नाराका साथ भव्यरुपमा गुरही पर्व मनाउन लागिएको थारु अगुवाहरु बताउँछन् । स्थानिय थारु समाज मिर्चैयाको आयोजनामा  हुन लागेको गुरही पर्व धुमधामका साथ मनाउने तयारी भएको थारु युवा नेता श्यामलाल थारु (प्रतिक)ले जानकारी गराए । 

थारु समुदायका विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउने गरिन्छ । गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चौर वा चौबाटोमा सेलाउने चलन रहेको युवा नेता थारुको भनाई छ । बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने अर्थात् पिट्ने चलन रहेको उनले बताए । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ । 

गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसैगरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ । 

हरेक थारु गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरहीलाई गतवर्ष पनि मिर्चैया गाउँमा भव्यताका साथ गुरही पर्व मनाईएको थियो । नाचगानसहित मनाउने चलन पछिल्लो समय व्यापक हुँदै गएको छ ।

प्रतिक्रिया