Listen LIVE

बिरुवा रोपौं अभियानअन्तर्गत नेपालगञ्जमा बृक्षारोपण

नेपालगञ्ज : २४औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपालगञ्जका बिभिन्न ठाउँहरुमा बृक्षारोपण गरिएको छ । नेपालगञ्जका युवाहरुले मंगल प्रसाद माध्यमिक विद्यालय, रानी तलाउ परिसर र महेन्द्र पार्क परिसरमा बृक्षारोपण गरेका हुन् ।

सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक विकास मंच (एसडिएफ) बाँकेको आयोजनामा बृक्षारापण गरिएको हो । कार्यक्रममा नेपालगञ्ज वडा नं. ८ ले सहकार्य गरेको थियो । एक युवा एक बिरुवा अभियान भन्दै अमला, गुलमोहर, नासपत्ति लगायतका बिरुवा रोपिएको छ ।

बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगञ्ज वडा नं. ८ का वडासदस्य निखिल कुमार बैश्यले आफुले रोपेको बिरुवाको ख्याल गर्न अनुरोध गरे । हाम्रो सानो प्रयासले बृक्षारोपण गरेर सबैका लागि आवश्यक अक्सिजन उत्पादन गर्न सकिने भन्दै उनले पर्यावरण जोगाउनसमेत रुख बिरुवाको आवश्यकता पर्ने हुँदा यसतर्फ युवाले ध्यान दिनुपर्ने धारणा राखे ।

यस्तै सेभ द चिल्ड्रेनकी बुलगारी परियोजना अधिकृत फुलकुमारी चौधरीले युवा दिवस परेको अवसरमा गरिएको बृक्षारोपण एक दिन मात्रै सिमित नराख्न अनुरोध गरिन् । उनले जग्गा खाली हुनेबित्तिकै बिरुवा लगाउनुपर्ने कुरामा जोड दिइन् ।

मंचका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्यायले नेपालगञ्जको पछिल्लो समय बढ्न थालेको गर्मीलाई बृक्षारोपण अभियाननै चलाएर केही हदसम्म कम गर्न सकिने बताए । उनले यसका लागि युवाहरु नै अघि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा सहभागी सबै युवालाई लगाउनका लागि एक–एक बिरुवासमेत प्रदान गरिएको छ । नेपालगञ्जमा सञ्चालित पावर फोर एवाई परियोजनाअन्तर्गत गरिएको कार्यक्रममा नेपालगञ्जका विभिन्न वडाका युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया