Listen LIVE

नेपालगञ्जमा विद्युत सुधार अभियान तीव्र

नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत आपूर्ति सुधार र अनियमितता नियन्त्रणका लागि आक्रामक अभियान सुरु गरेको छ। केन्द्र प्रमुख संजय कुमार मिश्र आफैं फिल्डमा खटिँदै मिटर अनुगमनलाई तीव्र बनाएका छन्।

सार्वजनिक बिदामा समेत स्थलगत निरीक्षण गर्दै वितरण केन्द्रको टोली सिंचाइ, घरेलु तथा अन्य ग्राहकको सेवा अवस्थाबारे अनुगमनमा सक्रिय रहेको छ। टोलीमा लेखा अधिकृत नन्दसिंह सिकर्मीको सहभागिता रहेको छ।

वितरण केन्द्रका अनुसार पछिल्ला महिनामा विद्युत आपूर्तिमा सुधार आएको छ। तीन महिनाभित्र पाँच नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेको दाबी गरिएको छ। यसै आधारमा गर्मीयाममा आपूर्ति अवरुद्ध नहुने विश्वास केन्द्रले व्यक्त गरेको छ।

बक्यौता असुलीमा कडाइ गर्दै पाँच महिनामा पाँच हजारभन्दा बढी लाइन काटिएको र तीमध्ये चार हजार ग्राहकबाट करिब सात करोड रुपैयाँ असुल गरी पुनः सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइएको छ।

अनुगमनका क्रममा जानकी गाउँपालिका–बेलभार क्षेत्रमा सिंचाइका लागि जडान गरिएका चार मिटर अन्य प्रयोजनमा प्रयोग भइरहेको भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ। ग्रामीण क्षेत्रमा सिंचाइ मिटर दुरुपयोगको गुनासोपछि अनुगमन गाउँस्तरमै केन्द्रित गरिएको केन्द्र प्रमुख मिश्रले बताए।

नो–लाइट शाखाका अनुसार महत्वपूर्ण स्थानमा नांगो तार हटाई केबुल विस्तारको काम भइरहेको छ। मर्मत शाखाले पनि नियमित अनुगमनमार्फत आपूर्ति अवरोध हुन नदिन सतर्कता अपनाइएको जनाएको छ।

प्राधिकरणको सक्रियतासँगै विद्युत चोरी नियन्त्रण, दुरुपयोग न्यूनीकरण र सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया